पार्टीमा तनाव बढेका बेला विप्लव निवास पुगे प्रचण्ड


काठमाडौं । पार्टीमा उपमहासचिव जनार्दन शर्माले चुनौती दिइरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न उनकै निवासमा पुगेका छन् । सोमबार बिहान प्रचण्ड ललितपुरको हरिसिद्धीस्थित विप्लव निवास पुगेर लामो कुराकानी गरेका छन् ।

स्रोतका अनुसार विप्लवलाई पार्टीमा भित्र्याएर महासचिव बन्न प्रचण्डले प्रस्ताव गरेका छन् । तर त्यसबारे विप्लवले पार्टीमा छलफल गर्ने जवाफ दिएका छन् । यसअघि शीर्ष नेताहरूलाई भेट्न जुनियर नेताहरू उनीहरूको निवासमा जाने गर्थे । तर यसपटक प्रचण्डले त्यसलाई क्रमभंग गरेका छन् । बरु आफैं विप्लवलाई भेट्न उनको निवास पुगेका छन् । अहिलेसम्म माओवादीमा आफू विरोधी नेतालाई कारबाहीको डण्डा चलाएर ३७ वर्षदेखि अध्यक्ष बन्दै आएका प्रचण्डलाई यसपटक जनार्दन शर्माले खुलेआम चुनौती दिएका छन् ।

त्यही भएर पनि शर्मालाई साइजमा ल्याउन प्रचण्डलाई विप्लवलाई माओवादीमा नभित्र्याई भएको छैन । शर्माले प्रचण्ड नभए पनि माओवादी चल्छ भन्ने ढंगले सन्देश दिँदै आएका छन् । जसले गर्दा प्रचण्डमा ठूलो छटपटी बढेको अनुमान गर्न थालिएको छ । विप्लव अहिले संसदीय राजनीतिसँगै कृषि उत्पादन अभियानमा लागेका छन् । देशका विभिन्न ठाउँमा उनले सामूहिक खेती गर्ने, सहरमा मार्ट सञ्चालन गर्दै आएका छन् ।