काठमाडौं – रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले उच्च अदालत बुटवलमा रिट निवेदन दर्ता गरेकी छन् । जिल्ला अदालत रुपन्देहीले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्ने आदेश बदरको माग गर्दै निकिताले सोमबार उच्च अदालतमा रिट हालेकी हुन् ।
रवि लामिछानेको आग्रह बेवास्ता गर्दै आफूले न्यायका लागि उच्च अदालत, बुटवलको ढोका ढक्ढक्याएको उनको भनाइ छ । ‘आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ । मेरो श्रीमान् भन्नुहुन्छ, ‘यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेऊ ।’ तर, श्रीमतीका रुपमा मेरो पनि जिद्दी छ, न्याय पाइयोस् कि नपाइयोस्, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने छु ।
निकिताले कारागारमा रविको ज्यानको सुरक्षा नभएकाले देशभित्र र बाहिरका न्यायका ढोका ढक्याउने उनको भनाइ छ ।
‘मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन । भैरहवा कारागारमा उहाँलाइ कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन । यिनीहरुले किन जेल सार्न मानिरहेका थिएनन्, यिनिहरुको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन,’ उनले भनेकी छन् ।
निकिताले प्रधानमन्त्री केपी ओली र कांग्रेस महामन्त्री गगन थापाविरुद्ध पनि आक्रोश पोखेकी छन् । ओली र थापाले संसदबाटै रविलाई धम्क्याएको उनले आरोप लगाएकी छन् । ‘आफैले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट किन धम्क्याइरहेका होलान्, त्यो पनि अब मैले भनिरहन पर्दैन । बिगो तोकिदेऊ र त्यो बराबरको बैँक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देऊ मेरो आग्रह यत्ति हो,’ उनले भनेकी छन् ।














प्रतिक्रिया