कवाडी व्यवसायीले घेरे काठमाडौं महानगर, बालेनलाई त्यसै नछाड्ने चेतावनी


काठमाडौं । कवाडी व्यवसायी समाजले सोमबार कमलादीस्थित काठमाडौं महानगर कार्यालय घेराउ गरेका छन्।

संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौँ महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौँ महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

त्यसैगरी कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौँ महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले आफ्नो व्यापार व्यवसाय चौपट पारेको भन्दै कवाड व्यवसायीहरूले त्यसै नछाड्ने चेतावनी दिएका छन् ।