इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान


काठमाडौं – सार्वजनिक यातायात केन्द्रीय महासंघले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रको गोपनीयताको विषयसमेत भएकाले संशोधनविना इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले असोज १ गतेबाट सार्वजनिक, निजी, पर्यटन र ढुवानी यातायातका सवारीसाधनहरुमा समेत अनिवार्य जडान गर्न गरेको सूचनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘देशमा कुनै पूर्वाधारविना पूर्वाधार सम्पन्न देशको प्रविधि भित्राई आमनागरिक सिंगो व्यवसाय क्षेत्रमाथि ठोस आधारविनाको थप आर्थिक व्ययभार हुने गरी विदेशी ठेकेदार कम्पनीसँगको सहकार्यमा सरकारी पक्षबाट एकपक्षीय रुपमा भएको यस किसिमका निर्णयबाट सुरक्षाका कारण झन् खतरा, नेपालीको गोपनीयता सम्प्रर्ण विवरण विदेशीको नियन्त्रणमा रहने, राष्ट्र नै कमजोर हुनेगरी यातायात व्यवसाय क्षेत्रमा जडान गर्न अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेट हरेक कारणवाट तत्काल प्रभावकारी व्यवासायी हितविपरीत र व्यावहारिक नभएकाले सम्पूर्ण यातायात क्षेत्र सबै गम्भीर भइदिनुहुनसमेत हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

जबर्जस्ती रुपमा प्लेट जडान गर्न खोजिए परिस्थितिउपज हुने विरोध दबावका थप गतिविधिप्रति स्वयं यातायात मन्त्रालय मातहत निकायहरु नै जवाफदेही हुने समेत महासंघले चेतावनी दिएको छ ।