काठमाडौं – कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई हप्तामा एकचोटि कांग्रेसलाई प्रधानमन्त्री छाड्छु भन्नुको कुनै तुक नभएको बताएका छन् ।
ओलीले सार्वजनिक कार्यक्रममा अबको यति महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु भनिरहेपछि थापाले त्यसको कुनै अर्थ नरहेको बताएका हुन् । सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले हप्ता–हप्तामा आलोपालो प्रधानमन्त्री बन्ने कुरा सम्झाउने गरेको उल्लेख गर्दै थापाले पद छोड्लान् कि नछोड्लान् भन्ने अन्योलमा बस्न नहुने बताए । कांग्रेस र एमालेबीच आधा आधा कार्यकाल सरकारको नेतृत्व लिने सहमति छ । कांग्रेसले त्यसलाई बाहिर नल्याए पनि ओलीले भने पटकपटक बताउँदै आएका छन् । जसकारण कांग्रेस नेता कार्यकर्ता रुष्ट भएका हुन् ।
थापाले पार्टीको नीति र सिद्धान्तअनुसार अघि बढेर सबैखाले लोभ र डर त्याग्न नसके पार्टी संगठन कमजोर हुनेप्रति सबै सजग हुनुपर्नेमा जोड दिए ।
अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने थापाको भनाइ छ । नेपाली कांग्रेसले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरूरी रहेको उनको भनाइ छ ।
महामन्त्री थापाले पार्टीभित्र पठन संस्कृतिको विकास गर्नको लागि साहित्यकारहरूलाई उत्प्रेरित गर्नुपर्ने धारणा समेत राखे । गुट छोडे पनि लेखन कार्य नछोड्न उनले कार्यकर्ताहरूमा आगह समेत गरे । उनले अहिले पार्टीका नेता कार्यकर्ताको साथले महामन्त्री भएको भन्दै परे पछाडि सँगै चकटीमा बस्न पनि तयार रहेको बताए ।














प्रतिक्रिया