इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णय जनभावनाविपरीत : सांसद श्रेष्ठ


काठमाडौं । सरकारले कुनै पूर्वतयारी नगरी बलजफ्ती रूपमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको भन्दै माननीय सांसद बिराजभक्त श्रेष्ठले आपत्ति प्रकट गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया व्यक्त गर्दै सांसद श्रेष्ठले सवारीधनीहरूले सवारीसाधन किन्दा नै नम्बर प्लेटको शुल्क तिरेको स्मरण गराउँदै सरकारले नम्बर प्लेट फेर्ने नाममा यसअघि पनि जनतामाथि आर्थिक शोषण गरिसकेको आरोप लगाए।

“अझैसम्म लाखौं नागरिकलाई चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्न नसकेको सरकारले पूर्वाधार र प्राविधिक तयारी नगरी, इम्बोस्ड नम्बर प्लेटको औचित्य नै पुष्टि नगरी, नेपाली भाषा–लिपिको संवेदनशीलता नहेरी जबरजस्ती निर्णय लागू गर्नु जनभावनाविपरीत कदम हो,” सांसद श्रेष्ठले लेखेका छन्।

उनका अनुसार सरकारले नागरिकमैत्री दृष्टिकोणबाट निर्णय नलिइ जनतालाई झन् थप बोझ दिने काम गरेको छ।