अनमोल केसीको “जेरी : अन टप”को टिजर सार्वजनिक, सगरमाथाको काखमै प्रेमकथा


काठमाडौं – अनमोल केसी स्टारर बहुप्रतिक्षित फिल्म ‘जेरी : अन टप’को टिजर सार्वजनिक गरिएको छ। सुयोग गुरुङ निर्देशित यस फिल्मले सगरमाथा आरोहण र त्यहाँको पदयात्राको पृष्ठभूमिमा बाँधिएको प्रेमकथा देखाउने संकेत दिएको छ।

झण्डै दुई मिनेट लामो टिजर मर्मस्पर्शी र साहसिक दुवै अनुभूति दिलाउँछ। सुरुवातमै सगरमाथाको भव्य दृश्य, त्यसपछि प्रेम, धोका, संवेदना, ड्रामा र एक्सन दृश्यले भरिएको टिजरले दर्शकलाई आकर्षित गरेको छ।

अनमोलसँगै जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्कीको उपस्थिति टिजरमा देखिन्छ। भुवनले अनमोलकै बुवाको भूमिकामा अभिनय गरेका छन्।

सिनेमाटोग्राफी, लोकेसन र प्रोडक्सन डिजाइनले टिजरलाई ‘लार्जर देन लाइफ’ बनाएको छ। चम्किलो छायांकनले फिल्मलाई अन्तर्राष्ट्रिय स्तरको अनुभूति दिलाएको छ भने निर्देशक गुरुङले आफ्नै पुरानो फिल्म ‘फर्की फर्की’को भिजुअल शैलीलाई थप परिष्कृत रूपमा प्रस्तुत गरेका छन्।

हेमराज बीसीको कथा र पटकथामा बनेको यो रोमान्टिक ड्रामा फिल्म सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले निर्माण गरेका हुन्।

सगरमाथा क्षेत्र, मुस्ताङ, काठमाडौं र भारतको जयपुरमा छायांकन गरिएको ‘जेरी : अन टप’ तिहार छेकोमा अर्थात् ३१ असोज (१७ अक्टोबर) देखि प्रदर्शनमा आउँदैछ।