सन्दीप लामिछानेको ह्याट्रिकको मद्दतमा अभ्यास खेलमा नेपाल विजयी, अर्को खेल सुरु


काठमाडौं । सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिएपछि अष्ट्रेलिया भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा जित निकालेको छ ।

मंगलबार बिहान भएको पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) लाई ४१ रनले पराजित गरेको हो ।

जितको लागि १७८ रनको विजयी लक्ष्य पछ्याएको एसिटी १७.२ ओभरमा अलआउट हुँदै १३६ रनमात्र बनाउन सक्यो । एसीटीका लागि जेक स्मिथले सर्वाधिक ५० तथा जाक के‌घले २५ रन बनाए ।

एसिटीलाई सस्तैमा समेट्न नेपालको लागो सन्दीप लामिछानेले चारओभरमा ह्याट्रिकसहित ३१ रन खर्चेर पाँच विकेट लिए । यस्तै करण केसी, रुपेश सिंह र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो । नेपालको लागि आसिफ शेखले ३९ बलमा सर्वाधिक ६९ रन बनाउँदा रोहित पौडेलले ३६ र आरिफ शेखले २४ रन बनाए । नेपालले आजै दोस्रो टी २० पनि खेल्नेछ ।