काठमाडौं – उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन नेताहरूको लस्कर लागेको छ । केही दिनअघि तराई मधेशलगायतबाट आएका उखु किसानले माइतीघरमा हरेक दिन धर्ना र प्रदर्शन गर्दै आएका छन् । उखु किसानको आन्दोलनमा आफ्नो पनि समर्थन छ है भनेर देखाउन पूर्वप्रधानमन्त्रीसकितका नेताहरुको लस्कर लागेको हो ।
मंगलबार एकीकृत समाजवाजीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराई केहीबेरको समय फरक पारेर धर्नामा पुगेका थिए । दुवै पूर्वप्रधानमन्त्रीसमेत हुन् ।
त्यसअघि माओवादी वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ किसानको आन्दोलनमा पुगेर धर्नामा बसेका थिए । उनीसँगै नेसपा अध्यक्ष महीन्द्र राय यादव पनि पुगेका थिए ।
तराई मधेशका किसानको मागमा आफूहरूको पनि समर्थन छ भनेर सहानुभूतिका लागि नेताहरूको देखावटी लस्कर लागेको हो । किनभने यी सबै नेता राज्यको कार्यकारी भूमिकामा रहिसकेका छन् ।
उखु किसानले आइतबारदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्। उखुमा गत आर्थिक वर्ष ०८१–८२ को प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान भुक्तानी गर्नुपर्ने, मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित गर्नुपर्ने, अनुदान तुरुन्त उपलब्ध गराउनुपर्ने र उखुमा लाग्ने भ्याट खारेज गर्नुपर्ने माग अघि सारेका छन्।
१३ जिल्लाबाट आएका किसानहरू उखु लिएर माइतीघरमा जम्मा भएका हुन्। सरकारले आफ्नो आवाज नसुनेपछि किसान काठाडौंको सडकमै धर्ना दिन आउन बाध्य भएका हुन्। आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने किसानहरूको अडान छ।














प्रतिक्रिया