काठमाडौ । कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता गरेकी छन्। रिक्त सभापति पदमा उनले मनोनयन दर्ता गरेकी हुन् । बुधबार सभापति चयन हुने छ ।
त्यसअघि उनले संसदीय सुनुवाइ समिति सभापति पदबाट राजीनामा दिएकी थिइन् । सभापति पदबाट राजीनामा दिन न्यापौनेसँगै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडा सभामुख देवराज घिमिरेको सचिवालय पुगेका थिए ।
संघीय निजामती विधेयकको कुलिङ पिरियड सम्बन्धमा भएको हेरफेरमा सभापतिको नैतिक जिम्मेवारी रहेको छानबिन समितिको प्रतिवेदनपछि खतिवडाले पदबाट राजीनामा दिएका थिए । अब खतिवडालाई न्यौपानेले राजीनामा दिएर रिक्त रहेको संसदीय सुनुवाइ समिति सभापति बनाउने चर्चा छ ।
तर एउटा संसदीय समितिको सभापतिमा कमजोरी देखिइसकेपछि त्यही व्यक्ति अर्को समितिमा कसरी योग्य होलान् भन्ने बहस पनि सुरु भएको छ । यस विषयमा कांग्रेसले छलफल गरेर निर्णय लिने बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का खतिवडालाई नै राज्य व्यवस्था समितिमा पुनः ल्याउन चाहन्थे । तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिक प्रश्न उठ्ने भनेपछि अर्को सांसदलाई अघि सारिएको हो । संसदीय सुनुवाइ समिति पनि महत्वपूर्ण समिति मानिन्छ ।














प्रतिक्रिया