इम्बोस्ड नम्बर प्लेटमा सरकारलाई नै भारी पर्ने भएपछि डरायो यातायात व्यवस्था विभाग


काठमाडौं – इम्बोस्ड नम्बर प्लेटजडान सम्बन्धमा सरकारलाई नै भारी पर्ने भएपछि यातायात व्यवस्था विभाग एक कदम पछि हटेको छ । विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिवाना नलाग्ने स्पष्ट पारेको छ ।

मंगलबार विभागले एक सूचना जारी गर्दै आगामी असोज १ गतेभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे दण्ड–जरिवाना लाग्ने कुरालाई निराधार भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

साथै, विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वतःस्फुर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको छ । इम्बोस्ड नम्बर प्लेटको जडानका विषयमा सर्वसाधारण मात्र होइन, यातायात व्यवसायी र मजदुर संघसंगठन पनि आन्दोलित भएका छन् । उनीहरूले सरकारको यो निर्णय नमान्ने चेतावनी दिएका छन् ।