काठमाडौं – सर्वोच्च अदालतले महाशिवरात्रीमा नागाबाबा आउनु सनातन अभ्यास र परम्परा रहेको भन्दै यसलाई रोक्न नमिल्ने जनाएको छ । सर्वोच्चको संयुक्त इजलासले यज्ञमणि न्यौपानेको रिटउपर यस्तो व्याख्या गरेको हो ।
न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, पर्यटन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष, महानगरीय प्रहरी, काठमाडौं महानगरपालिकालगायतलाई विपक्षी बनाइ रिट दर्ता गराएका थिए । जसमाथि न्यायाधीशहरू कुमार चुडाल र नहकुल सुवेदीको इजलासले रिट खारेज गर्दै यस्तो आदेश गरेको हो । गत वर्ष २७ भदौमै भएको फैसला मंगलबार सार्वजनिक भएको हो ।
‘नागा साधुहरु निर्वस्त्र रहनुलाई उनीहरुको धार्मिक आस्था र परम्पराको अभिन्न अंगका रुपमा रहेको र शरीरमा खरानी लेपन गर्ने, निर्वस्त्र रहने तथा शिवालय आदि विभिन्न धार्मिक स्थलहरुमा विशेष अवसरहरुमा निर्वस्त्र देखा पर्नुलाई उनीहरुको पहिचान र धार्मिक अभ्यासको अभिव्यक्तिका रुपमा लिनुपर्ने देखियो,’ फैसलामा भनिएको छ ।
शैव सम्प्रदायभित्र पनि अत्यन्त न्यून संख्यामा रहेका नागा साधुहरुलाई शिवालय आदिमा निषेध गर्नु धार्मिक अल्पसंख्यक प्रति भेदभावजन्य व्यवहार हुने र उनीहरुको धार्मिक परम्परागत अभ्यासमा हस्तक्षेप हुन जाने ठहर सर्वोच्चको छ । ‘अन्य धार्मिक सम्प्रदायहरुको जस्तै नागा साधु÷सम्प्रदायको पनि आफ्नै विशिष्ट नियम र अभ्यास देखिएको स्थितिमा महाशिवरात्री जस्तो भगवान शिवको आराधना गर्ने विशिष्ट पर्वमा निजहरुलाई पशुपतिनाथको मन्दिर प्रांगणमा निषेध गर्नु यससम्बन्धी आस्था, विश्वास र सनातन परम्परासमेतको विपरीत हुने देखियो,’ फैसलामा भनिएको छ ।
सर्वोच्चले नग्नता र अश्लीलता फरक रहेकाले सबै नग्नतालाई अश्लीलता मान्न नमिल्ने फैसलामा उल्लेख गरेको छ । अभिव्यक्तिको सन्दर्भ, उद्देश्य, सामाजिक स्वीकार्यता तथा कानूनी व्यवस्थालगायतका परिप्रेक्ष्यमा अश्लीलताको परिभाषा हुनुपर्ने भन्दै उक्त इजलासले यसलाई सापेक्ष मानेको छ । ‘एउटै कामकारवाही वा आचरण कुनै समय, समाज वा सन्दर्भमा श्लील र अर्को समय, समाज वा सन्दर्भमा अश्लील मानिने वा कायम हुन जाने अवस्थासमेत हुने भएकाले केवल शारिरीक रुपमा नाङ्गो हुनुलाई मात्र अश्लीलताको प्रदर्शन भन्न मिल्ने देखिएन,’ फैसलाको प्रकरण नं। ३४ मा छ ।
पशुपतिनाथ परिसरमा नागा साधुहरु नांगै बस्नुको उद्देश्य दर्शनार्थीको कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा श्रद्धालुको सोच भ्रष्ट तथा चरित्रहीन गराउने नभइ सनातन अभ्यास र परम्परा अनुसार पशुपतिनाथ प्र्रतिको भक्ति, समर्पण र साधना रहेको ठहर उक्त इजलासको छ । यसबाट महिला, बालबालिकामाथि यौनहिंसा हुने रिटको दाबी स्वभाविक तथा तर्कसंगत नभएको फैसलामा छ । यसरी सदियौँदेखि चल्दै आएको विशेष परम्परालाई सार्वजनिक नैतिकता तथा शिष्टाचार विपरीत र अश्लील मान्न नमिल्ने भन्दै निवेदकको मागबमोजिम आदेश दिन नमिल्ने फैसलामा छ ।
‘नागा सन्यासी साधुहरु शरीरमा कुनै वस्त्र धारण नगरी गोप्य अङ्गसमेत नछोपरी शरीरभरी खरानी घसी अग्निको उपासना गरी धुनी जगाइ बस्ने गरेको भन्ने विपक्षीहरुको लिखित जवाफबाट देखिए तापनि उक्त कृत्य सनातन धार्मिक अभ्यास र परम्पराबमोजिमको रहेको देखिएको र नागा साधुहरु मन्दिर परिसरमा नाङ्गै रहनुलाई सामाजिक र नैतिक स्वीकार्यताको दृष्टिले समेत अन्यथा नदेखिएको स्थितिमा निजहरुले अश्लीलताको प्रदर्शन गरेको भन्न मिलेन,’ फैसलामा छ ।
मेला व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषले नागा साधुका लागि निश्चित स्थान तोक्न सक्ने भए पनि मन्दिर परिसरभित्र प्रवेश निषेध गर्न नमिल्ने सर्वोच्चको फैसलामा छ । यसो गर्दा सनातनदेखि चलिआएको परम्परामाथि हस्तक्षेप हुन जाने भन्दै सर्वोच्चले यो परम्परा रोक्न नमिल्ने ठहर गरेको हो ।














प्रतिक्रिया