निखिल उप्रेतीले भारतमा सुरु गरे आफ्नो फिल्म ‘आचार्य’को छायांकन


काठमाडौं – अभिनेता तथा निर्देशक निखिल उप्रेतीले आफ्नो महत्वाकाङ्क्षी प्रोजेक्ट ‘आचार्य’को छायांकन भारतको पश्चिम बंगालस्थित डुअर्सबाट सुरु गरेका छन्। शुक्रबारदेखि सुरु भएको छायांकन सात दिनसम्म चल्नेछ।

यसमा निखिलसँगै डेब्यू अभिनेत्री पूर्णिका सिजापति र केही भारतीय कलाकारले अभिनय गरिरहेका छन्। निखिल स्वयम् यस फिल्मका निर्देशक र मुख्य भूमिकामा रहेका छन्।

उनका अनुसार ‘इन्डिया ट्राभल’सँग सम्बन्धित दृश्य अहिले खिचिँदैछ। त्यसपछि विहारको बागडुगरा र ठाकुरगञ्जमा छायांकन हुनेछ। करिब २५ दिनपछि टोली नेपाल फर्केर काठमाडौं र स्याङ्जासहित विभिन्न ठाउँमा ६० दिनसम्म छायांकन गर्ने योजना छ।

फिल्ममा निखिल र पूर्णिकासहित प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारीलगायत कलाकारहरू देखिनेछन्। यो फिल्मलाई विश्वब्यापी रिलिज गर्ने लक्ष्य राखिएको छ। “यसमा वर्ल्ड क्लास एक्सन प्रस्तुत हुनेछ, जसलाई हेरेर अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मले पनि स्थान दिनेछन् भन्ने कुरामा हामी विश्वस्त छौं,” निखिलले बताए। पटकथा उनले आफैं लेखेका हुन्।

फिल्मको शीर्षकबारे निखिल भन्छन् – “आचार्य भन्नाले शास्त्र र शस्त्र दुवै जान्ने व्यक्ति हो। महाभारत त्यो कालमा मात्र थिएन, अहिले पनि छ। सानो रूपमा घरमा र ठूलो रूपमा देशमा पनि महाभारत जहिले पनि हुन्छ।”

यस फिल्मबाट अभिनेत्री सञ्चिता लुइँटेलले नृत्य निर्देशकको रूपमा डेब्यू गर्नेछिन्। उनले एक गीतको कोरियोग्राफी गर्ने तय भएको छ।

सन् २००१ मा ‘पिँजडा’बाट डेब्यू गरेका निखिल नेपाली फिल्म उद्योगमा एक्सन स्टारका रूपमा चिनिन्छन्। अहिलेसम्म उनले झन्डै सय फिल्ममा अभिनय गरेका छन्। ‘आचार्य’ उनको दोस्रो निर्देशकीय फिल्म हो। यसअघि उनले निर्देशन गरेको ‘भैरव’ सन् २०१५ मा रिलिज भएको थियो।