काठमाडौं – चर्चित कमेडियन मनोज गजुरेलले रत्नपार्कमा कार हाँक्दा मोबाइल चलाएपछि पाँच सय जरिवानामा परेका छन् । आफूलाई लापरवाही गाडी चलाएको भन्दै ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिवाना तिराएको, तर जरिवाना तिर्दा पनि करोडको मज्जा आएको उनको भनाइ छ ।
‘रत्नपार्कमा ट्राफिकले नमस्कार गर्दै गाडी रोक्नुभयो । लाइसेन्स, ब्लुबुक जाँच्नुभयो । र, वाकीटकीमा सोध्नुभयो– सर नम्बर गाडीको कसुर ? जवाफ आयो– लापरवाहीपूर्वक गाडी चलाएको ।’ मैले सोधेँ– कस्तो लापरबाही ? भन्नुभयो– गाडी हाँक्दै मोबाइल चलाएको । थप्नुभयो– क्यामेरा र सादा पोशाकमा ट्राफिकहरु तपाईलाई नियालिरहेका छन्, जहाँ जहिले पनि कारवाहीमा पर्न सक्नुहुन्छ,’ गजुरेलले भनेका छन् ।
उनले नागरिक एपमा जरिवाना रकम आएको र इसेवाबाट तिरेको खुलाएका छन् । ‘नागरिक एप चलाउनुहुन्छ ? एप देखाएपछि भन्नुभयो, अहिले जान सक्नुहुन्छ, पछि एप चेक गर्नुहोला । म दंग पर्दै हिंडेँ । तर, बेलुका नागरिक एपमा ५०० जरिमानाको नोटिस आएको रहेछ । कारण, लापरवाहीपूर्वक गाडी चलाएको ? मैले इसेवाबाट जरिमाना तिरेँ, खुसीसाथ,’ उनले भनेका छन् ।
ट्राफिक प्रहरीको जरिमानाले आफ्नो ‘ड्राइभ एण्ड मोबाइल’को खराब बानी सम्भवतः अब छुट्ने उनले खुलाएका छन् । ट्राफिक प्रहरीले सूचना र प्रविधिको प्रयोग सकारात्मक रुपमा गरेको पाएको उनले बताएका छन् । ‘बैंक र ट्राफिक कार्यालय धाउने झण्झट भएन । ट्राफिक काउन्सिलिङ राम्रो भएछ । मुख्य कुरा, ट्राफिक प्रहरीबाट प्रिभिलेज पाएर म धेरैपटक दण्डबाट उम्किएको छु, जुन आफ्नै लागि दुर्घटनाको कारण बन्न सक्थ्यो । साँच्ची भनेको, जरिमाना तिर्दा पनि करोडको मज्जा आयो,’ उनले भनेका छन् ।














प्रतिक्रिया