पक्राउ पुर्जी जारी भएलगत्तै एमाले नेता ऐन महरले गरे प्रहरीसमक्ष आत्मसमर्पण


काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् साइबर अपराधसम्बन्धी मुद्दामा बुधबार आफूविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै उनी आफैं प्रहरीमा उपस्थित भएका छन् । प्रहरीलाई अनुसन्धानमा सघाउन महर आफैं प्रहरीकहाँ गएका हुन् ।

पीडित रश्मिला धामीले हुलाकमार्फत जाहेरी पठाएको भन्दै साइबर व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले रीतपूर्वक अदालतमा पेस गरिएको बताए । पीडित धामी पक्राउ पूर्जी माग्दै साइबर व्युरो पुगेकी थिइन् । प्रहरीले दिन नमानेपछि फर्किएलगत्तै महर आफैं साइबर व्युरोमा उपस्थित भएका थिए । मुद्दा चल्ने, नचल्नेबारे अदालतको आदेश आउन बाँकी छ । महर एमालेको भ्रातृसंगठन अनेरास्ववियुको अध्यक्ष हुँदै एमालेको केन्द्रीय सदस्य भएका थिए ।

बझाङ निवासी महर २०७९ सालको निर्वाचनमा संघीय सांसदका उमेदवार भएका थिए । त्यसबेला उनी एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए । महरले आफूविरुद्ध षड्यन्त्र भएको दाबी गर्दै आएका छन् । आफ्नो चरित्र हत्या भएको उनको भनाइ छ । केही समयअघि महर र रश्मिलाको अडियो टेप सार्वजनिक भएको थियो ।