काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन् । उनी कांग्रेसको समानुपातिक सांसद हुन् । समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको अध्यक्षतामा बुधबार बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।
समितिका यसअघिका सभापति पदमा कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो । बैठकमा समिति सदस्य खतिवडाले न्यौपानेलाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई एमाले सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाएका थिए । समिति सभापति निर्वाचित न्यौपानेले आजै सभामुख देवराज घिमिरेसँग पद तथा गोपनीयताको शपथ लिएकी छन् । लगत्तै उनले समिति सभापतिको कार्यभार सम्हालेकी छन् ।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी न्यौपाने हाल कांग्रेसको केन्द्रीय सदस्य छिन् । यसअघि उनी तत्कालीन संविधानसभामा सदस्य हुँदै पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिकासमेत निर्वाह गरिसकेकी छन् । कांग्रेस महिला विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ।














प्रतिक्रिया