बालेनको निर्णयविरुद्ध कवाड व्यवसायीको अहिलेसम्मकै विशाल प्रदर्शन


काठमाडौं । महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनविरुद्ध कवाड व्यवसायीको आन्दोलन झन् झन् सशक्त बन्दै गएको छ ।

लगातार तीन दिनदेखि जारी आन्दोलनअन्तर्गत बुधबार अहिलेसम्मकै विशाल प्रदर्शन भएको छ । व्यवसायीले काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन् ।

प्रदर्शनमा करिब दुई हजारको सहभागिता रहेको बताइएको छ । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने उनीहरुको माग छ ।

आन्दोलनमा सहभागिहरुले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।