रुविकुमारीको हत्या स्वीकारेका लक्ष्मण पासवानको पनि मृत्यु


काठमाडौं । रौतहटकी २६ वर्षीया रुविकुमारी साहका हत्या गरेको स्वीकारेका लक्ष्मण पासवानको मृत्यु भएको छ। बुधवार बिहान शरीरमा आगो लगाएको अवस्थामा फेला पारेर उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले उपचारका क्रममा पासवानको मृत्यु भएको जानकारी दिए । पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए ।

गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुविको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो । पासवानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा आफूले रुविको हत्या गरेको स्वीकार्दै त्यसमा रुविको आमा मुख्य दोषी भएको बताएका थिए ।