काठमाडौं । विगतमा प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच हार्दिक सम्बन्ध थियो । एकजना पार्टी अध्यक्ष, अर्को पार्टी उपाध्यक्ष । विद्यालाई राष्ट्रपति बनाउन पनि ओलीले अघि सारेका थिए । तर अहिले यी दुवैबीच पानी बाराबारको स्थिति आएको छ । कतिसम्म भने ओली र भण्डारीबीचको तिक्तताको असर एमालेले राम्रै चुकाउने देखिएको छ ।
ओलीले भण्डारीबाहेक अरुले आफूलाई चुनौती दिन नसक्ने सहर्ष स्वीकारेका पनि छन् । पार्टीको विधान महाधिवेशनमा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने एमाले नेताहरूको भेलामा ओलीले भित्री कुरा खुलेर भनेका थिए, ‘विद्याबाहेक कसैको दम छैन, उहाँले छोडे सबै कुरा मिल्छ।’
प्रधानमन्त्रीको सरकारी निवास निवास बालुवाटारमा बुधबार साँझ आयोजित भेलामा ओलीले विधान महाविधेशन प्रतिनिधिहरुलाई आफ्नो पक्षमा लाग्न लामो प्रशिक्षण दिएर सम्झाएका थिए । भण्डारी पक्षले अन्तर संघर्ष चर्काएपछि जिल्ला जिल्लाका नेताहरू र विधान महाधिवेशन प्रतिनिधिहरूलाई समेत बालुवाटार बोलाउँदै अध्यक्ष ओलीले आफ्नो निर्णयको पक्षमा उभिन निर्देशन दिइरहेका छन् ।
भेलामा ओलीले दिएको मन्तव्यको बुँदाहरु एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले सार्वजनिक गरेका छन् । ‘उहाँ (विद्या भण्डारी) ले एमाले अध्यक्षमा अब मलाई सहयोग गर्नु, तपाईं चलाउन सक्नुहुन्न भन्नुभयो। तर मैले भ्रममा नपर्नू, पार्टी चलाउन अनुभव छैन भनेँ,’ बैठकमा ओलीले भने, ‘राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा आउनु हुँदैन।’
भण्डारीले आफूलाई पार्टी चलाउन नसक्ने भन्दै जिम्मा दिन भनेको पनि ओलीले बताए । ‘उहाँले मलाई सहयोग गर्नुस्, तपाईं चलाउन सक्नुहुन्न भन्नुभयो’, उनले भने, ‘उहाँ अहिले च्यासलले पार्टी सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन। पार्टीमा निवेदन दिएको छैन, प्रक्रिया मिलेन।’
विद्याले आफूलाई पार्टी चलाउन नसक्ने भनेपछि ओली चिढिएका रहेछन् । त्यो कुरा उनले पार्टीकै नेता कार्यकर्तासामु सार्वजनिक पनि गरेका छन् । यदि विद्या पक्षले भोलि समानान्तर रूपमा गुट चलाए भने के गर्ने भन्ने ओलीले अहिलेसम्म केही सोचेको देखिन्न ।
हिजो आफ्ना प्रतिस्पर्धी माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, घनश्याम भुसाल सबैलाई ओलीले निकालिसकेका छन् । अब कसैले पनि चुनौती दिन नसक्ने भनेर ढुक्क बसेका ओली विद्या अघि सरेपछि तिल्मिलाएका छन् ।
विधान महाधिवेशनमा भण्डारी समूहले ताण्डव देखाएमा के गर्ने भन्नेमा ओलीले ‘विधान अधिवेशन एकताको अधिवेशन हुने विधान अधिवेशनमा अन्यथा गर्नेको महाधिवेशनमा हिसाब किताब गरिने’ चेतावनी भने दिएका छन् ।














प्रतिक्रिया