ओलीले राजेन्द्र लिङ्देनले झापामा अब कसरी जित्छन् भनेपछि राप्रपामा ज्वारभाटा


काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अब झापा ३ मा चुनाव नजित्ने घोषणा गरेका छन् । हिजो एमालेकै साथ र सहयोगले चुनाव जितेको भन्दै उनले अबको निर्वाचनमा लिङ्देनले कसरी जित्छन् भन्ने ओलीको टिप्पणीपछि राप्रपा नेता कार्यकर्ता भड्किएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ आयोजित काठमाडौं एमालेको भेलामा ओलीले भनेका थिए– ‘राजेन्द्र लिङ्देनले झापामा जितेका छन् । हिजो पनि हामीले सहयोग गरेका हौं । अबको चुनाव कसरी जित्छन् हेरौंला ।’

ओलीको यो अभिव्यक्ति सार्वजनिक भएलगत्तै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पनि त्यसरी नै जवाफ फर्काएका छन् । उनले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, राप्रपाको साथ र समर्थनबाट झापाबाट चुनाव जितेर यतिबेला देशको प्रधानमन्त्री पदमा बिराजमान हुनुभएको बिर्सनुभयो ? राप्रपाको समर्थनबिना तपाईले फेरि पनि झापाबाट कसरी चुनाव जित्नुहुन्छ, हामी पनि हेरौंला ।’

वास्तवमा भन्ने हो भने हिजो ओलीको समर्थनमा लिङ्देन र लिङ्देनको साथसहयोगले ओलीको चुनाव जितेको निश्चित हो । यदि दुवै एक्लाएक्लै लड्ने हो भने त्यहाँ कांग्रेसले चुनाव जित्ने थियो । तर अबको निर्वाचनमा यसै भन्न सकिन्न । किनभने स्वतन्त्र पनि बलियो बन्दै आएको छ । तर अझै चुनाव आउन साढे दुई वर्ष बाँकी रहेकाले एमाले र राप्रपाबीच फेरि पनि कार्यगत एकता नहोला भन्न सकिन्न । किनभने अघिल्लो चुनावमा एमालेले सहयोग नगरेको भए राप्रपाका तीन सिट पनि प्रत्यक्षमा नआउने निश्चित नै हो ।

कांग्रेसका कृष्णप्रसाद सिटौला जितेर आए झापामा उनको वर्चस्व बढ्ने देखेर ओलीले लिङ्देनलाई चुनाव जिताएको कांग्रेस नेता कार्यकर्ताको आरोप छ । पछिल्लो समय राप्रपाले सरकारलाई साथ नदिएपछि ओली भड्किएका हुन् ।