यस वर्ष हिलेदशैँ हुने, मनसुन दुई साता पछि धकेलियो


काठमाडौं । विगतमा असोज पहिलो सातासम्म रहने मनसुन यसपटक दुई साता लम्बिएर असोजको तेस्रो साता पुग्ने भएको छ । जसकारण यस वर्ष हिलेदशैं हुने मौसमविद्हरूले प्रक्षेपण गरेका छन् ।

मौसमविद् उज्ज्वल उपाध्यायले यसपटकको दशैंका बेला वर्षाले बाटाघाटो अवरोध गरेर नेपालीलाई घर जान र आउन निकै सास्ती हुने बताएका छन् ।

‘प्रायःजसो भाद्र महिनाको आधाआधीपछि मनसुन कमजोर हुने र भदौरे (क्षणिक) वर्षा हुनुपर्ने हो । तर वास्तवमै मनसुन २–३ हप्ता पछि सरेको भान हुन्छ विगत केही वर्षको परिपाटी हेर्दा । यसले दशैँलाई समेत प्रभाव पार्ने सम्भावना देखिन्छ । हिलेदशैँ हुन सक्ने र बाटोघाटो वर्षाले अवरोध भएर यात्रुलाई घर जान आउन सास्ती हुन सक्ने,’ उनले भनेका छन् ।

यस वर्ष अलि छिटो दशैं छ । असोज १७ गते नै विजयादशमी छ । असोजको पहिलो सातादेखि नै दशैं सुरु भइसक्छ । तर मौसमको अवस्था हेर्दा भर्खर मध्य मनसुन भएको भान हुन्छ । किनभने नेपाल र भारत दुवैतिर अहिले भीषण वर्षा भइरहेको छ । उपाध्यायका अनुसार एक दुई दिन अझै वर्षा हुने देखिन्छ । खासगरी बिहीबार साँझदेखि शनिबारसम्म बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा भइरहने उनको भनाइ छ ।