विराटनगर पुगेर प्रचण्डको झटारो, जनार्दनले नपत्याउँदैमा माओवादी आन्दोलन रोकिन्न


काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको वाकयुद्ध त्यत्तिकै थामिने देखिएको छैन । पछिल्लो केही समयदेखि एकले अर्कोलाई झटारो हानिरहेका छन् । वाद प्रतिवाद भइरहेको छ ।

बिहीबार पनि प्रचण्डले शर्माप्रति झटारो हानेका छन् । प्रचण्डले शर्माले नपत्याउँदैमा माओवादी इतिहास र आन्दोलन नरोकिने बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले शेषनागले पृथ्वी थामेको छ भन्ने कुरा पुरानो भएको सन्दर्भमा पार्टीको आगामी बैठकमा कुरा हुने जानकारी गराए । उनले पार्टीभित्र स्वार्थ समूह रहेको भन्दै स्वार्थ समूहको बारेमा पहिचानसमेत भइसकेको दावी गरे ।

पार्टीको विधि र पद्धति र लिडरसिपभन्दा स्वार्थमा केन्द्रित भएर मिटिङ बैठक गर्ने नै स्वार्थ समूह भएको उनको भनाइ छ । ‘प्रभाकरले नपत्याएर इतिहास र आन्दोलन रोकिन्न । यसलाई चर्काउने हिसाबले प्रश्न गर्न जरुरी छैन,’ उनले भने ।

प्रचण्डले आफूले नै विद्या भण्डारीलाई राजनीतिमा आउने बाटो खोलिदिएको समेत दावी गरेका छन् । ‘पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएपछि उहाँका लागि पनि बाटो खुलेको छ,’ उनले भने । यसले संविधानको सफलताको विषय राष्ट्रपतिहरू राष्ट्रिय राजनीतिमा पनि आउन सक्ने बताए ।