काठमाडौं । कुनै पनि विद्यालयको प्रधानाध्यापक कम्तीमा एक कार्यकालका लागि नियुक्त भएका हुन्छन् । राम्रो र उदाहरणीय काम गरेमा थप अर्को कार्यकाल पनि उसलाई नियुक्त गर्ने चलन छ । तर मधेश प्रदेशको एउटा सरकारी स्कुल एउटै हेडमास्टरको कब्जामा २२ वर्षसम्म रह्यो भन्ने थाहा पाउँदा जो पनि आश्चर्यमा पर्छ । तर यथार्थ यही हो ।
२२ वर्षदेखि एउटै हेडमास्टरको कब्जामा रहेको महोत्तरीको बर्दिबास–१३, बिजुलपुरास्थित जनता माध्यमिक विद्यालय अहिले त्यसबाट मुक्त बनेको छ । राजनीतिक आडमा २२ वर्षदेखि स्कुल कब्जा गरिरहेका प्रधानाध्यापक भरतप्रसाद यादवको साम्राज्य स्थानीयको पाँच महिने आन्दोलनले ढालिदिएको छ ।
यादवले लगातार २२ वर्षसम्म विद्यालयको नेतृत्व सम्हाल्दा त्यो पदलाई सेवा र समर्पणको कुर्सी होइन, निजी जागिरको ग्यारेन्टी कार्डमा रूपान्तरण गरे। विद्यालयमा शिक्षकहरूको नियमितता हरायो, विद्यार्थीहरूको पढाइ कमजोर हुँदै गयो, अभिभावकहरूको विश्वास घट्यो। कुनै समय बर्दिबास नगरकै पहिलो हाइस्कुलका रूपमा चिनिने जनता विद्यालयको उज्यालो इतिहास अन्धकारतर्फ धकेलियो।

विद्यालयमा कक्षा नियमित सञ्चालन हुने अवस्था थिएन। शिक्षकहरू ढिलो आउँथे, कतिपय त अनुपस्थित नै हुन्थे। प्रशासनिक कामकाज सुस्त र गैरजिम्मेवार देखिन्थ्यो। विद्यार्थीहरूको नतिजा लगातार ओरालो लाग्दा पनि न प्रधानाध्यापकलाई चिन्ता थियो, न व्यवस्थापन समितिलाई। स्थानीयले बारम्बार प्रश्न उठाउँदा पनि जवाफ पाउन सकिँदैनथ्यो।
अझ विडम्बना त के भने, प्रधानाध्यापक स्वयंले आफ्ना छोराछोरीलाई निजी बोर्डिङ स्कुलमा पढाए, तर अन्य अभिभावकलाई भने आफ्ना बच्चालाई सरकारी विद्यालयमै पठाउन दबाब दिन्थे। यसले सामुदायिक शिक्षाप्रतिको विश्वास झन् कमजोर बनायो।
विद्यालयमा आउने राज्यको अनुदान, पूर्वाधार निर्माण बजेट, छात्रवृत्ति तथा अन्य सहयोगहरू पारदर्शी रूपमा खर्च नभएको स्थानीयहरूको आरोप छ। ‘धेरैजसो रकम कहाँ जान्छ भन्ने प्रश्न गर्दा हेडसर मौन बस्छन्। कुनै रिपोर्ट सार्वजनिक हुँदैन,’ एक अभिभावक भन्छन् । विद्यालय सञ्चालक समितिको नाम मात्रै थियो, समितिमा समेत यादवका आफन्त र समर्थकहरूको बोलबाला थियो। निर्माण कार्यदेखि सामग्री खरिदसम्म सबै कुरा ‘भित्रभित्रै सेटिङ’ अनुसार हुने गर्थे। यसरी विद्यालय शिक्षाको मन्दिर होइन, भ्रष्टाचार र विकृतिको केन्द्रमा परिणत भएको थियो।
यिनै कारण अभिभावक, विद्यार्थी र स्थानीय युवाहरूलाई आक्रोशित बनायो। ‘बिजलपुरा रुपान्तरण अभियान’ नामक युवाहरूको समूहले पाँच महिनासम्म लगातार संघर्ष चलायो। उनीहरूको माग स्पष्ट थियो— विद्यालयलाई निजी स्वार्थबाट मुक्त गर, शिक्षा गुणस्तरीय बनाउ र व्यवस्थापन पारदर्शी गर।

आन्दोलनमा अभिभावकहरूले खुलेर आवाज उठाए, विद्यार्थीहरूले आफ्ना पीडा सुनाए र गाउँलेहरूले समर्थन जनाए। अन्ततः जनदबाब यति बलियो बन्यो कि नगरपालिकाले निर्णय लिनुपर्ने अवस्था आयो।
बर्दिबास नगरपालिकाले प्रधानाध्यापक यादवलाई पदमुक्त गर्दै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दमार भञ्ज्याङका हरिदेव महतोलाई नयाँ प्रधानाध्यापकका रूपमा नियुक्त गर्यो। २०८२ साउन २५ आइतबार विद्यालयको प्रांगणमा विद्यार्थी, शिक्षक र अभिभावकहरूको उपस्थितिमा महतोले अबिर, दोसल्ला र उत्साहपूर्ण स्वागतबीच कार्यभार सम्हाले। सम्पूर्ण शिक्षक र स्थानीय नेताहरुले स्वागत तथा सम्मान गर्दै अब बिद्यालयमा केही परिवर्तन हुने आशा पलाएको संकेतसम्म गरे। २२ वर्षको यादव हेडसरको साम्राज्य ढालेपछि अहिले बिजलपुरमा अन्य परिवर्तन पनि यसरी नै एकजुट भएर गर्न सकिन्छ भन्ने स्थानीयमा साहस पलाएको छ ।














प्रतिक्रिया