कुलमानसँग प्रचण्ड रुष्ट, लोडसेडिङमुक्त गराएको जस दिन छाडे


काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग रुष्ट बनेका छन् । हिजोसम्म कुलमानको पक्षमा बोल्ने प्रचण्ड अहिले देश लोडसेडिङ मुक्त कुनै एक प्राविधिक कर्मचारीले नगरेको भन्न थालेका छन् । यसले पनि माओवादीको कुलमानलाई हेर्ने दृष्टिकोणमा फरक आउन थालेको पुष्टि भएको हो ।

माओवादीले आफ्नो सरकारकै पालामा कुलमानलाई प्राधिकरणमा ल्याएको, ऊर्जामन्त्री जनार्दन शर्माले रोजेर ल्याएको दाबी गर्ने गरेको थियो । तर वास्तवमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नै कुलमानलाई प्राधिकरणमा ल्याएको उनी स्वयंले बताउने गरेका छन् । पछिल्लो समय वर्तमान सरकारको वक्रदृष्टिमा परेका कुलमानको पक्षमा माओवादी थियो । तर कात्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनमा कुलमान माओवादीको उम्मेदवार नबन्ने भएपछि प्रचण्ड फेरिएका हुन् ।

पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा बुधबार आयोजित ‘नेपालको ऊर्जा राज्यशिल्प र जलविद्युत् परिदृश्यः रणनीतिक प्राथमिकता, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय ऊर्जा संवादमा प्रचण्डले ऊर्जा र कृषिलाई गणतन्त्रको पहिलो सरकारले नै आधारभूत प्राथमिकता दिएको बताए । उनले गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा क्रान्तिकारी कदम चालेको बताए ।

‘हामीले त्यसबेला लोडसेडिङ अन्त्य गर्ने मात्रै नभई, देशलाई ऊर्जा आत्मनिर्भर बनाउन दीर्घकालीन भिजन बनाएका थियौँ,’ उनले भने, ‘यो सबै नयाँ नेपालको सपना थियो, त्यो दिनदेखि नै सुरु गरिएको हो ।’ प्रचण्डले दोस्रो कार्यकालमा ऊर्जा क्षेत्रमा विशेष ध्यान दिँदै ‘उज्यालो अभियान’मार्फत लोडसेडिङ अन्त्य भएको दाबकी गरे ।

ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई केवल प्राविधिक व्यक्तिलाई मात्र श्रेय दिनु नेतृत्वको भिजन र योजनाको मूल्यांकन गर्ने दृष्टिमा कमजोरी भएको बताउँदै प्रचण्डले राजनीतिक नेतृत्वको भिजन, रणनीति र आँट नै निर्णायक रहेको बताए ।
कुलमान अहिले आफैं नयाँ पार्टी खोल्ने अभियानमा छन् । उनी यतिबेला युरोपको भ्रमणमा छन् । आगामी निर्वाचनअघि उनले नयाँ पार्टी खोल्ने बताइन्छ ।