विजय–वर्षाको “मालती मंगले” शुभमुहूर्त, रामकृष्ण ढकाल बने निर्माता


काठमाडौं – गायक रामकृष्ण ढकालले निर्माणमा हात हाल्दै तयार गर्न लागेको नेपाली चलचित्र ‘मालती मंगले’ को बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजासहित शुभमुहूर्त सम्पन्न भएको छ। पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए भने अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै छायाङ्कन यात्रा आरम्भ गरेका थिए।

शुभमुहूर्तमा निर्माता तथा गायक ढकालले दर्शकलाई समाजसँग जोडिने स्तरिय र भावनात्मक कथा पस्किने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, मुख्य कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलले चलचित्र आफ्नो अभिनय यात्रामा विशेष महत्व राख्ने विश्वास व्यक्त गरे।

चलचित्रमा विजय, वर्षा र मेक्समसँगै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराईलगायत कलाकारको सहभागिता रहनेछ।

प्रकु पाण्डेयद्वारा निर्देशित यस चलचित्रको कथा पनि पाण्डेयकै लेखन हो भने पटकथा तथा संवाद गुरागाईँले तयार गरेका छन्। पारिवारिक भावनासँग जोडिएको प्रेमकथामा आधारित ‘मालती मंगले’ को छायाङ्कन तनहुँ र स्याङ्जाका रमणीय स्थलमा शनिबारदेखि सुरु हुने कार्यकारी निर्माता सागर ज्ञवालीले जानकारी दिए।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा, युनी इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको यस चलचित्रका सह–निर्मातामा रविन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईँ र ईश्वर बजगाईँ छन्।

टिममा छायाङ्कन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ संयोजक कृष्ण भण्डारी, कस्ट्युम डिजाइनर रवि पोखरेल, कला निर्देशक मनोज बोगटी, प्रोडक्सन डिजाइनर रिजन परियार र प्रमुख सहायक निर्देशक शिशिर पोखरेल रहेका छन्।

गीत लेखनमा राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र हर्क साउद रहनेछन् भने संगीत संयोजनमा हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागरले योगदान गर्नेछन्।