काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उखु किसानले पाउनुपर्ने अनुदान रकम दिई घर–खेतमा फर्किने वातावरण बनाउन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । झन्डै एक सातादेखि देशभरिका उखु किसान माइतीघर मण्डलामा धर्नामा बसिरहेका बेला महामन्त्री थापाले प्रधानमन्त्री ओलीलाई विनियोजित बजेटबाट उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गरी किसानलाई सडकबाट घर–खेतमा फर्कने वातावरण बनाउन र यो विषयको दीर्घकालीन समाधान खोज्न आवश्यक निर्णय गरी पहलकदमी लिन सुझाव दिएका हुन् ।
महामन्त्री थापाले बुधबार कृषिमन्त्री रामनाथ अधिकारी र मन्त्रालयका अधिकारीहरूसँग भेटेर उखु किसानका मागका सम्बन्धमा जानकारी लिएका थिए । कृषिमन्त्री अधिकारीसँग आफूले दुईवटा कुरा गरेको र त्यस आधारमा प्रधानमन्त्रीमार्फत समस्या समाधान गर्न थापाले आह्वान गरेका हुन् । थापाले किसानहरूको हितको सन्दर्भमा सरकारले कहिले एउटा निर्णय गर्ने र कहिले फिर्ता गर्न नहुने भन्दै किसानहरूलाई पटक पटक सडकमा आउने अवस्था सिर्जना दिन नहुने पनि बताएका छन् ।
‘न्यूनतम मूल्यदेखि अनुदानसम्मलाई व्यवस्थित गर्दै दीर्घकालीन समाधान निकाल्नका लागि विभिन्न सरोकारवालाहरूसँग बसेर बहुआयामिक ढंगले काम गर्नुपर्नेछ । कृषि मन्त्रालय यो दुवै विषयमा प्रस्ट रहेको र पहलकदमी गरी पनि रहेको पाएँ। तर यो विषय कृषि मन्त्रालयको निर्णयले मात्र टुंगिँदैन,’ उनले भनेका छन्, ‘अतः प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, विनियोजित बजेटबाट उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गरी किसानलाई सडकबाट घर (खेतमा फर्कने वातावरण बनाउन र यो विषयको दीर्घकालीन समाधान खोज्न आवश्यक निर्णय गरी पहलकदमी लिनुहोस्।’
थापाले अहिले तत्काल गर्नुपर्ने काम भनेको आन्दोलित किसानलाई सरकारले कबुल गरेअनुसारको उनीहरूको बिक्रीमा आधारित प्रोत्साहन अनुदान भुक्तानी नै भएको पनि बताएका छन् । मा उनले सरकारले बजेटमा दुई अर्ब रुपैयाँ छुटाइएको जानकारी दिँदै यसबाट रकम निकासा गरी अविलम्ब प्रोत्साहन अनुदान रकमअन्तर्गत प्रतिक्विन्टलमा पाउने ७० रुपैयाँको दरले भुक्तानी प्रक्रिया अगाडि बढाउन सल्लाह दिएका छन् ।














प्रतिक्रिया