प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दा रास्वपाले अवरोध नगर्ने


काठमाडौं । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद् बहिस्कार गर्दै आएको रास्वपाले शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्न दिने भएको छ ।प्रधानमन्त्री ओलीले संसदमा आज आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिँदैछन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने क्रममा सभा बहिस्कार नगर्ने बताए । सदनमा बोल्न पाउने कुरा प्रधानमन्त्रीको अधिकार भएको उल्लेख गर्दै बोल्न पाउने कुरा अग्राधिकारमा रहने उनको भनाइ छ । आफूहरु संसदमा आन्दोलनमै भए पनि कतिपय कामहरू ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि रास्वपाले प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दा वा प्रश्नोत्तर कार्यक्रम पनि बहिष्कार गर्दै आएको छ । तर यसपटक भने चीन भ्रमणबारे ओलीले संसदलाई जानकारी गराउने कार्यक्रमलाई रास्वपाले बहिष्कार नगर्ने भएको छ ।

रास्वपाले गत जेठ १३ गतेदेखि नै भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरोध र बहिष्कार गर्दै आएको छ । रास्वपाले संसद् बैठक बस्नेवित्तिकै आकस्मिक समय लिएर एकजना सांसदले आफ्ना धारणा राख्ने र लगत्तै संसद् छाडेर हिँड्ने गरेको छ । रास्वपालाई राप्रपाले पनि साथ दिएको छ ।