कांग्रेस उपसभापति खड्का र सहमहामन्त्री पाण्डेलाई बेइजिङ नजान दबाब


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री बद्री पाण्डेलाई भदौ १८ गते बेइजिङ नजान पार्टीभित्रैबाट दबाब बढेको छ । सो दिन चीनले दोस्रो विश्वयुद्ध (८० वर्षअघि) जापानलाई हराएको अवसरमा बेइजिङमा सैन्य परेड आयोजना गर्दै आएको छ ।

चीनले विजयोत्सव भनेर मनाउन लागेको सैन्य परेडमा विभिन्न २६ देशका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई सहभागी गराउँदै छ । चीनले यो विजयोत्सव जापानलाई चुनौती दिन आयोजना गरेको भन्दै कांग्रेसले नेपालको प्रमुख विकास साझेदारविरुद्धको सैन्य परेडमा सहभागी नहुन उपसभापति खड्का र सहमहामन्त्री पाण्डेमाथि दबाब बढेको हो ।

प्रधानमन्त्री केपी ओली भदौ १५ मा चीनको तियानजिन महानगरमा आयोजना हुने सांघाई को–अपरसेन अर्गनाइजेसन (एससिओ) मा सहभागी हुँदैछन् । उनले आफ्नो भ्रमण टोलीमा कांग्रेस उपसभापति खड्का र पर्यटनमन्त्रीसमेत रहेका सहमहामन्त्री पाण्डेलाई सामेल गरेका छन् । विवादमा तानिँदा आफू मात्र होइन, सत्ता साझेदार दल कांग्रेस पनि मुछियोस् भन्ने उद्देश्यले ओलीले यस्तो रणनीति अख्तियार गरे पनि नेताहरुले विवेक पुर्याउनुपर्ने भन्दै एससिओ सम्मेलनबाटै फर्कन र बेइजिङ नजान दबाब बढेको हो ।

जापानसँग नेपालको सम्बन्धलाई ध्यानमा राख्दै राष्ट्रपति रामचन्द्र पौडेल कार्यक्रमिक भ्रमणमा नभएर राजकीय भ्रमणमा जाने इच्छा जनाएर पन्छिएका थिए । उनले एक देशले अर्को देशविरुद्ध आयोजना गर्न लागेको सैन्य परेडमा सहभागी हुनु नेपालको असंलग्न पञ्चशील सिद्धान्तका कारण पनि नमिल्ने जवाफ दिएका थिए । त्यहीअनुसार परराष्ट्र मन्त्रालयले बेइजिङलाई सन्देश दिएको थियो । तर प्रधानमन्त्री ओलीले भने आफैं जाने गरी ओके गरिदिएपछि यसले कूटनीतिक क्षेत्रमा हलचल मच्चिएको छ । कम्तीमा पनि कांग्रेस नेतृत्वले जापान र चीनबीचको सम्बन्धलाई कायम राख्न भूमिका खेल्नुपर्ने धेरैतिरबाट सुझाव आइरहेको छ ।