पछिल्लो २४ घन्टामा सुर्खेतमा २९२ मिलिमिटर वर्षा, अन्यत्र कहाँ कति ?


काठमाडौं – पछिल्लो केही दिनदेखि मनसुन थप सक्रिय भएपछि नेपालका विभिन्न जिल्लामा भारीदेखि अतिभारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको छ । सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव तीन मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिम क्षेत्रको निश्चित केन्द्रमा बढी, तर सीमित क्षेत्रमा खण्डित वर्षा भएको बताइन् ।

विभागका अनुसार पर्वतको पञ्चासेमा १७९ दशमलव तीन मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा मापन हो । बाँकेमा १४६ दशमलव तीन मिलिमिटर वर्षा भएको छ । दाङमा १३८, दार्चुलामा १०७, सिन्धुपाल्चोकमा १०५ मिलिमिटर वर्षा भएको छ ।
१२ भन्दा बढी स्टेशनमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ । धेरै मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ ।

मौसमविद् मानन्धरले शुक्रबार दिउँसो र साँझसम्म वर्षा अलि बढी हुने र भोलि भने केही कम हुने बताइन् । स्थानीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा वर्षा भएको र पूर्वमा भने बंगालको खाडीबाट आएको प्रणालीको असर भएको विभागले जनाएको छ ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशमा बढी मनसुनी प्रभाव रहेको र मौसमी बदली भने देशैभरि रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित छ ।
हाल देशभर साधारणतया बदली छ । कोशी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।