रास्वपा नेता पाँडेविरुद्ध अदालतमा मुद्दा दर्ता, न्यायाधीश कार्कीको इजलासमा बयान


काठमाडौं – रास्वपा केन्द्रीस्य सदस्य अरनिको पाँडेविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर क्राइमसम्बन्धी मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले दर्ता गरेको साइबर कसुरको मुद्दामा शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयान र थुनछेक बहस हुने भएको छ।

बयान र बहस सकिएपछि पाँडेलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश हुनेछ। पाँडे बुधबारदेखि साइबर ब्युरोको हिरासतमा छन्।

उनीविरूद्ध एक महिलाले आफूलाई ह्वाट्सएप र जिमेलमार्फत अपशब्द बोलेर गाली गरेको भन्दै गत साउन १२ गते साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। गत भदौ ५ गते उनीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि पाँडे आफै बुधबार साइबर ब्युरोमा कुरा बुझ्न बुझाउन गएकोमा त्यहीँबाटै प्रहरीले हिरासतमा राखेको हो ।

पाँडेसँग बयान लिने कार्यसहितका सबै अनुसन्धान पूरा गरेर शुक्रबार बिहानै सरकारी वकिलमार्फत मुद्दा दायर गरेको हो। यस्तै कसुरमा एमाले केन्द्रीय सदस्य ऐन महरलाई भने प्रहरीले उन्मुक्ति दिएको थियो ।