साढे दुई महिनाका लागि प्रहरी महानिरीक्षकमा खापुङ नियुक्त


काठमाडौं – सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी खापुङलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो । खापुङ ३२औं महानिरीक्षक नियुक्त भएका हुन् ।

जेष्ठता र वरिष्ठताका आधारमा खापुङलाई प्रहरी प्रमुखमा नियुक्त गरिएको हो । यसका लागि उनी एकल दाबेदार पनि थिए ।
२०५२ कात्तिक २७ गते इन्स्पेक्टरमा भर्ना भएका खापुङ यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (ञसीआईबी) का प्रमुखमा कार्यरत थिए ।

२०८२ वैशाख १६ गते एआईजी नियुक्त भएका खापुङ हालसम्मका विवादरहित उच्च प्रहरी अधिकृतका रुपमा चिनिन्छन्।
खापुङले करिब साढे दुई महिना प्रहरीको नेतृत्व सम्हाल्नेछन्। नेपाल प्रहरीका वर्तमान महानिरीक्षक दीपक थापा भदौ १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। ३० वर्षे सेवा अवधि पूरा गर्दै थापा अवकाशमा जान लागेका हुन् ।

एआईजी खापुङ एसपी हुँदा प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन, एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालय तथा डीआईजीमा प्रदेश प्रहरीको कमाण्ड गरेको अनुभव छ ।