काठमाडौं । रास्वपा र राप्रपा सांसदले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले रास्वपाका सांसद गणेश पराजुलीलाई बोल्न समय दिएका थिए । पराजुलीले भारत र चीनबीच लिपुलेक पासबाट द्विपक्षीय व्यापार सुरु गर्ने सहमतिको विरोध गर्दै नेपालले दह्रोसँग कुरा राख्नुपर्ने बताए । उनले अहिलेको सरकारले भारत र चीनसँग आफ्नो कुरा राख्न नसकेको र अहिलेसम्म कुनै धारणा सार्वजनिक नगरेको बताए ।
त्यसपछि राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बोलेका थिए । उनले चीनभन्दा अघि नै नेपाल संयुक्त राष्ट्र संघको सदस्य बनेको भन्दै नेपालले लिपुलेकका सम्बन्धमा आफ्ना अडान राख्नुपर्ने बताए । उनले उखु किसानलाई अनुदान दिन नसक्ने दुई तिहाइको होइन, पोलियो लागेको सरकार भन्दै कडा आलोचना गरे ।
उनले सरकार छाडे आफूहरुले चलाउने बताए । पराजुली र शाहीले बोलेपछि दुवै दलका सांसद संसदबाट बाहिरिएका थिए । अब उनीहरूले प्रधानमन्त्री केपी ओलीको सम्बोधन नसुन्ने भएका छन् । बिहीबार मात्र रास्वपा प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री ओलीको सम्बोधनमा आफूहरूले अवरोध नगर्ने बताएका थिए ।














प्रतिक्रिया