काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण स्वीकृत भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्री ओली शनिबारदेखि पाँच दिने चीन भ्रमणमा जाँदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियानजिनमा भेटवार्ता गर्ने कार्यक्रम छ। साथै, उनले भदौ १६ गते तियानजिनमा हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली जापानविरुद्धको युद्धमा विजयी भएको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा पनि सहभागी हुनेछन्। प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र एमाले सचिव छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडालगायत उच्चपदस्थ सरकारी अधिकारीहरू समावेश छन्।














प्रतिक्रिया