अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरीः अन टप’ को टिजरले सार्वजनिक भएलगत्तै राम्रै चर्चा पाइरहेको छ। गत मंगलबार रिलिज गरिएको टिजरले पहिलो दिनदेखि नै दर्शकको ध्यान तानेको हो।
शुक्रबार दिउँसोसम्म टिजरले युट्युबमा करिब १५ लाख भ्युज पाइसकेको छ। नेपालसहित थुप्रै देशमा फिल्म ‘मुभिज ट्रेन्डिङ चार्ट’ मा परेको छ। नेपालमा ‘ट्रेन्डिङ मुभिज ट्रेलर्स’ को शीर्ष स्थानमा पुगेको टिजर अस्ट्रेलिया, हङकङ, जापान, कुवेत, मलेसिया, माल्टा, पोर्चुगल, कतार, रोमानिया लगायतका मुलुकमा समेत ट्रेन्डिङमा छ। यसले विदेशमा रहेका नेपाली दर्शकमाझ समेत फिल्मप्रतिको रुचि बलियो रहेको देखाएको छ।
युट्युबले गत महिनादेखि ‘ट्रेन्डिङ’ पृष्ठ हटाएर ‘युट्युब चार्टस्’ अन्तर्गतका लोकप्रिय सामग्रीहरू देखाउने व्यवस्था मिलाएको छ। यही चार्टमा ‘जेरीः अन टप’ को टिजर नेपालसहित विभिन्न देशमा स्थान बनाउन सफल भएको हो।
टिजरप्रतिको सकारात्मक प्रतिक्रियापछि अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत दर्शकलाई धन्यवाद दिँदै आफ्नो खुसी साटेका छन्।
सुयोग गुरुङ निर्देशित फिल्ममा सगरमाथा आरोहण र पदयात्राको क्रममा हुने प्रेमकथा प्रस्तुत गरिएको छ। टिजरमा देखाइएका हिमाली दृश्य र कलाकारहरूको दमदार अभिनयले दर्शकमाझ फिल्मप्रतिको उत्सुकता बढाएको छ।
फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे (माग्ने बुढा), उषा खड्गी लगायतका कलाकारको अभिनय छ।
अनन्या फिल्म्स को ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता सरोज न्यौपाने हुन् भने भविष्य खड्का, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र अनन्या न्यौपाने निर्माता रहेका छन्। कथा हेमराज बिसीको हो भने पटकथा विश्वास तिमल्सिनाले तयार पारेका हुन्।
तिहारको अवसर पारेर आगामी असोज ३१ गतेदेखि ‘जेरीः अन टप’ प्रदर्शनमा आउने तयारीमा छ।














प्रतिक्रिया