काठमाडौं – निर्माता विनोद पौडेल आफ्नो चलचित्र रिलिजअघि विभिन्न फन्डा निकाल्नेमा माहिर मानिन्छन् । ‘पूर्णबहादुर सारंगी’ हेर्न दुई दिनसम्म पनि हलमा दर्शक नआएपछि निर्माण टिमले दर्शकहरू रोइरहेको एउटा भिडियो सामाजिक सञ्जालमा हालेर उनले ‘चमत्कार’ नै गरेका थिए । जसले पछि उनको चलचित्र हेर्न दर्शक हलमा ओइरिएका थिए ।
अहिले ‘अभिमन्यु : च्याप्टर १’ रिलिजअघि उनी कुनै न कुनै फन्डा निकाल्न खोजिरहेका छन् । त्यसक्रममा बिहीबार ट्रेलर रिलिजका दिन कलाकार र पत्रकारले बोलेको ‘नचलेका कलाकार’ भन्ने शब्दलाई अहिले उनी प्रमोशनको गतिलो फन्डा बनाउन खोजिरहेका छन् । ट्रेलर रिलिजको कार्यंक्रममा एकजना पत्रकारले ‘नचलेका कलाकार’ लिएर कसरी चलचित्र बनाउनु हुन्छ भनेर प्रश्न सोध्छन् । पत्रकारले सोध्नु पहिले कलाकार सरिता गिरीले निर्माता पौडेललाई ‘नचलेका कलाकार’ लाई मौका दिएर राम्रो चलचित्र बनाउने भनेर तारिफ गर्छिन् । त्यसपछि पत्रकारले प्रश्न गर्छन् ।
यो कुरा त्यहीँ सकिएको थियो । को कलाकार चलेका छन्, को छैनन् भन्ने प्रश्न सोध्ने अधिकार पत्रकारलाई हुन्छ । तर निर्माता पौडेलले त्यही राति सामाजिक सञ्जालमा स्टाटस लेखे । त्यो पनि पत्रकारको अभिव्यक्तिविरुद्ध । उनले लेखेका थिए, ‘राम्रो अभिनय गर्न सक्ने र गर्न नसक्ने कलाकार हुन्छन् होला नि । तर ‘फेरि कहाँबाट आयो यो नचलेको कलाकार’ भन्ने खालको प्रश्न गर्नु कति उपयुक्त हो ? अभिमन्युको ट्रेलर हेर्दा के साँच्चिकै त्यस्तो लाग्छ ? कलाकारलाई अपमान गर्ने भाषाभन्दा अन्डररेटेड भन्ने शब्द प्रयोग गर्दा पनि हुन्थ्यो।’ तर कुरा अर्कै रहिछ ट्रेलर रिलिज कार्यक्रम गएका पत्रकारहरुले आफ्नो सामाजिक संजाल युटुब र फेसबुकमा कुनै पनि प्रोमोसनको भिडियो अपलोड नभएपछि निर्माण टिमले यो फन्डा बनाइएको चर्चा छ ।
यदि पत्रकारले बोलेका कुरालाई सामाजिक सञ्जालमा हाल्दा यसले माइलेज पाउँछ भन्नेमा उनी ढुक्क थिए । त्यसपछि उनले तुरुन्त स्टाटस हाले । स्टाटस भाइरल बन्यो । पक्ष विपक्षमा बहस सुरु भयो । कलाकार, पत्रकारले बोल्न र लेख्न थाले । त्यसले विनोद पौडेललाई फाइदै भयो । त्यसपछि उनले शुक्रबार सेभेन सिज सिनेमाको तर्फबाट विज्ञप्ति निकाल्दै पत्रकारले बोलेकोमा माफी मागे । झन् उनको चर्चा नहुने कुरै भएन ।
‘हाम्रा कलाकारहरुलाई नचलेका कलाकार भन्ने शब्द प्रयोग भएको घटनाप्रति सेभेन सिज सिनेमाको गम्भीर ध्यानाकर्षण भएको छ र यसप्रति हामी घोर भर्त्सना गर्दछौं र यस असावधान शब्द प्रयोगले कलाकारहरुको सम्मानमा आँच पुगेकोमा हामी गहिरो दुःख प्रकट गर्दै सम्पूर्ण कलाकारहरूसँग हार्दिक माफी माग्दछौं,’ उनले जारी गरेको विज्ञप्तिमा छ ।
पौडेलले कलाकार, साहित्यकार, स्रष्टा तथा सिर्जनशील व्यक्तिहरू राष्ट्रका गहना भन्दै कलाकारको मनोबल गिराउन नखोजेको उल्लेख गरेका छन् ।
‘यस चलचित्रमा संलग्न सम्पूर्ण कलाकारहरू विगत लामो समयदेखि निरन्तर मेहनत, लगनशीलता र जिम्मेवारीका साथ नेपाली चलचित्र तथा कला क्षेत्रमा योगदान दिँदै आउनुभएका प्रतिष्ठित व्यक्तित्वहरू हुनुहुन्छ । कलाकार, साहित्यकार, स्रष्टा तथा सिर्जनशील व्यक्तिहरू राष्ट्रका गहना हुन्। हाम्रो लागि सबै कलाकारहरू समान हुन्। उहाँहरूको योगदानलाई सम्मान गर्नु सम्पूर्ण व्यक्ति, समाज र संस्थाको दायित्व हो। यसरी शब्दको अयोग्य, अनुचित प्रयोगले कलाकारहरूको मनोबल गिराउने कार्य अस्वीकार्य छ भन्ने कुरा हामी स्पष्ट पार्न चाहन्छौं,’ उनले भनेका छन् ।
सकारात्म नकारात्मक जस्तो भए पनि आफ्नो चलचित्रको प्रमोशन मज्जाले हुने बुझेका पौडेलले त्यसकै लागि ‘नचलेका कलाकार’ भन्ने शब्दलाई प्रयोग गरिरहेका छन् । हेरौं अभिमन्यु चलाउन २५ लाखको टिकट आफैं किन्छन् कि दर्शक नै हलसम्म आउँछन् भन्ने बुझ्न रिलिजको समयसम्म पर्खनै पर्ने हुन्छ ।
सुशान्त गौतमको निर्देशन रहेको चलचित्रको कथा मुकेश खनालले लेखेका हुन् । चलचित्रमा कामेश्वर चौरासियाका अलावा गौमाया गुरुङ, लक्ष्मी बर्देवा, सरिता गिरी, प्रकाश दाहाल, शिशिर वाङ्देल, किरण श्रेष्ठ, सुष्मा निरौला, अनिल कुर्मीलगायतका कलाकारको भूमिका छ ।














प्रतिक्रिया