प्रधानमन्त्री ओली उडेकै दिन विद्यालाई मधेशमा ५१ किलोको माला


काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वीरगन्जमा एमाले कार्यकर्ताले ५१ किलोको माला लगाएर स्वागत गरेका छन्।
शनिबार बीआइसीसीआई बृहत् महिला सम्मेलन २०८२ मा सहभागी हुन वीरगन्ज जाने क्रममा एमाले नेताहरुले ५१ किलोको मालासहित सीमरा विमानस्थलमा स्वागत गरेका हुन् ।

बाराको सीमरा विमानस्थलमा एमाले स्थायी कमटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल विमानस्थल पुगेका थिए ।

स्वागतका लागि मधेस प्रदेशका सचिवालय सदस्य जय प्रकाश थारु जितपुर सिमरा उपमहानगरपालिका उपमेयर भोला अधिकारी, जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक शाह, बिरगंज महानगर कमिटीका अध्यक्ष नवराज शर्मालगायत विमानस्थलमै स्वागतका लागि पुगेका थिए ।

प्रधानमन्त्री केपी ओली पाँच दिने भ्रमणका लागि शनिबार चीन प्रस्थान गरेकै दिन भण्डारीलाई बारामा एमाले नेता कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । भण्डारीलाई एमालेले साधारण सदस्यतासमेत खोसेर पार्टीको सक्रिय राजनीतिमा रोक लगाएको छ । एमाले केन्द्रले भण्डारीलाई स्वागत गर्न नजानु भन्ने निर्देशनका बाबजुद पनि उनले मधेशमा भव्य स्वागत पाएकी छन् ।