रुपन्देही ३ मा रास्वपाले सुलभ खरेललाई उम्मेदवार बनाउने


काठमाडौं – रास्वपाले आइतबार रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गर्दैछ । साढे १ बजे बस्ने सचिवालय बैठकपछि रास्वपाले नौमध्ये एकजनाको नाम घोषणा गर्न लागेको हो ।

रास्वपाबाट उपनिर्वाचनमा नौजनाले प्रतिस्पर्धा गरेका थिए । झन्डै तीन साता लामो प्रक्रियापछि आज उम्मेदवारको नाम घोषणा हुने छ । यसका लागि दुई दिन लगाएर प्राइमरी निर्वाचनसमेत भइसकेको छ । २६ सयभन्दा बढीले प्राइमरी निर्वाचनमा मत हालेका थिए । जसमध्ये सुलभ खरेलले एक हजारभन्दा बढी मत पाएको स्रोतले बताएको छ । नेताहरूका अनुसार खरेललाई रास्वपाले उम्मेदवार छनोट गर्ने सम्भावना बढी छ । दोस्रो नम्बरमा डा.लेखजंग थापा रहेको बताइन्छ ।

खरेल अधिवक्ता हुन् । उनले पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्दा सबैभन्दा कान्छा रिट निवेदकको रूपमा सर्वोच्च अदालतमा रिट दायर गरी बहस गरेका थिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसदहरुविरुद्ध निर्वाचन आयोगले गरेको कारबाहीमा कानुनी बहस गरेका थिए ।

विराटनगरमा थुनिएका लालबहादुर विकको रिहाइमा समेत उनले सांसद सोबिता गौतमसँगै बहस गरेका थिए । खरेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको चक्रवर्ती हाबी कलेज दुवैमा एलएलएम प्रवेश परीक्षामा शीर्ष स्थान हासिल गरेका थिए। उनले मिचिगन ल स्कूलबाट पूर्ण छात्रवृत्तिमा स्नातकोत्तर गरेका छन् । खरेललाई संवैधानिक तथा फौजदारी कानुनमा गहिरो रुचि छ ।