सुलभलाई पछि पार्दै डा.लेखजंग थापाले पाए रास्वपाको टिकट


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि डा.लेखजंग थापालाई उमेदवार बनाएको छ।

आइतबार साँझ पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर थापालाई उम्मेदवार बनाउने रास्वपाले घोषणा गरेको हो। पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यले थापालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।

रुपन्देही ३ मा आइतबार दिउँसोसम्म रास्वपाबाट अधिवक्तासमेत रहेका सुलभ खरेलले टिकट पाउने चर्चा थियो । तर अन्तिममा उनले पाएनन् । थापालाई टिकट दिइयो । उम्मेदवारका नौ आकांक्षीमध्ये खरेल सबै किसिमले योग्य भए पनि थापाले पाउनुलाई सामान्य मानिएको छैन ।

नौजनै आकांक्षीले दिउँसो रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारमा गएर भेटेका थिए । सो भेटपछि खरेलको टिकट काटिएको चर्चा छ । खरेलले लामिछानेलाई भेटेर फर्केपछि भनेका थिए– उहाँले केही संकेत गर्नुभएन । अहिले सामाजिक सञ्जालमा रास्वपामा पनि पैसाले जितेको भन्दै व्यापक टीकाटिप्पणी भइरहेको छ ।

रुपन्देहीको सिद्धार्थनगर–९ अञ्चलपुरका थापा प्राइमरी इलेक्सन, लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्जिमिटी प्रक्रियामा अन्य आठजनालाई पछि पार्दै अगाडि आएका हुन्।