कपिलवस्तु । करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्स प्रालिमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–६, बीरपुरस्थित यशोदा फुड्समा गत बिहीबारदेखि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
श्रमिकहरुले श्रम ऐन अनुसारको सेवा–सुविधा नपाएको, समयमा पारिश्रमिक नदिएको, जातीय तथा लैङ्गिक विभेद गर्ने गरेको, महिलामैत्री सेवा उपलब्ध नगरेको लगायतका गुनासो लिएर उनीहरूले उद्योगको मूलगेटमै धर्ना थालेका हुन् ।
पटकपटक ध्यानाकर्षण गराउँदा समेत उद्योगले बेवास्ता गरेपछी आफुहरु आन्दोलनमा उत्रनुपरेको मजदुरहरुले बताए। आन्दोलन चर्किएपछि जिन्दावाद र मुर्दावादको नारा उद्योग परिसरमा गुञ्जिएको छ । श्रम ऐन अनुसार आफ्ना अधिकारको नारा बोकेका मजदुरले अब माग सम्बोधन नभएसम्म काममा नफर्कने बताएका छन् ।
वर्षौदेखि सोही कम्पनीमा कार्यरत रहेका कमलेश गुप्ताले दैनिक १२ घण्टा काम गरे पनि ७ सय ५० को दरले दिने र त्यो पनि समयमा पारिश्रमिक नपाउँदा आफूहरु श्रम शोषणमा परेको उनले बताए। श्रम ऐन अनुसार दैनिक ८ घण्टाको आधारभूत पारिश्रमिक ४७० र महङ्गी भत्ता २८४ गरेर प्रती दिन ७५४ रुपैयाँ दिनुपर्ने ब्यबस्था छ। तर उद्योगले १२ घण्टा काम लगाएर ८ घण्टाको मात्र पारिश्रमिक दिनेगरेको पाइएको हो। श्रम ऐन अनुसार प्रती घण्टा १०१ रुपैयाँको दरले बढी समय काम गरेको जोडने हो भने ११५८ रुपैयाँ पारिश्रमिक दिनुपर्ने छ। उद्योगले प्रतिश्रमिक प्रतिदिन ४०४ रुपैयाँ शोषण गरेको हो। यशोदा फुड्सका अध्यक्ष तथा विवादित ब्यापारी चुन्न प्रसाद शर्माले यशोदा फुड्समा २२ सय श्रमिकलाई रोजगारी दिएको दाबी गर्दै आएका थिए। तर २२ सय श्रमिकबाट उद्योगले वार्षिक ३२ करोड ४४ लाख १२ हजार रुपैयाँ श्रम ऐन अनुसार श्रमिकलाई नदिएर शोषण गरेको पाइएको हो।
शुक्रबार आन्दोलित श्रमिकहरु स्थानीय शिवराज नगरपालिकामा न्याय माग्दै पुगेका थिए । नगरप्रमुख अजय थापासँग श्रमिकहरूले आफूहरू अन्यायमा परेकोले न्यायको लागि आग्रह गरेका थिए। नगरप्रमुख थापाले यशोदा फुड्सलाई श्रमिकको माग तुरुन्त सम्बोधन गर्न निर्देशन दिएका छन्।
शिवराज नगरपालिकाले शुक्रबार नै न्यूनतम पारिश्रमिक कार्यान्वयन तथा सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने सम्बन्धी सूचना समेत जारी गरेको छ ।
सामाजिक अभियन्ताहरुले श्रमिकहरुको समर्थनमा यशोदा फुड्सले श्रमिकहरुको श्रमको मूल्य र पसिना शोषण गरेको गरेको भन्दै यशोदा फुड्सको उत्पादन करेन्ट चाउचाउ बहिस्कारको अभियान सुरु गरेका छन्।














प्रतिक्रिया