डिनरका बेला जम्काभेटमै सीमित हुने भो ओली र मोदीबीचको वार्ता


काठमाडौं । प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ता नहुने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको रात्रिभोजमा ओली र मोदीबीच आइतबार जम्काभेट भएको थियो । दुईजनाबीच उभिएरै कुराकानी भयो। दुवै नेताबीच चीनमा त्यही भेट नै अन्तिम हुने बुझिएको छ ।

भेटपछि भारतीय प्रधानमन्त्री मोदीले एक्स (ट्वीटर) मा ओलीसँग खिचिएको तस्बीर सेयर गर्दै नेपाल–भारतको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् । ‘थिएन्चिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेट हुन पाउँदा धेरै खुशी लागेको छ, दुई देशको सम्बन्ध सधैँ गहिरो र विशेष छ,’ मोदीले लेखेका छन् । पछिल्लो समय नेपाल–भारतको सीमा विवाद सतहमा आइरहँदा ओली र मोदीको भेटलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रुपले हेरिएको छ ।

सांघाई कोअपरेसन सम्मेलनमा ओली र मोदीबीच अलग्गै साइडलाइन भेटवार्ता हुने अनुमान गरिए पनि त्यो सम्भव भएन । किनभने नेपाल एससिओको सदस्य राष्ट्र होइन । अब १५ दिनपछि हुने भारत भ्रमणमा ओली र मोदीबीच बोधगयामा भेटवार्ता हुने छ । प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्यको चिनियाँ राष्ट्रपति सी दम्पतीसँग भेटवार्ता भएको थियो । रात्रिभोजमा सरिक सांघाई सहयोग संगठनका सदस्य मुलुकका कार्यकारी प्रमुखहरुलाई चिनियाँ राष्ट्रपति दम्पतीले स्वागत गरेका थिए ।