लेखजंगलाई टिकट दिइएपछि रास्वपा पार्टी कार्यालयमा डाँको छाडेर रोए सुलभ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै एक महिना लगाएर रुपन्देही ३ को उपनिर्वाचनमा दुईवटी श्रीमतीका धनी डा.लेखजंग थापालाई उम्मेदवार बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । लेखजंगका सुलोचना घिमिरे र नुमा शर्मा गरी दुईवटा श्रीमती रहेको खुलेको छ । थापाले भने आफ्नो जेठी श्रीम्ती घिमिरेसँग सम्बन्ध विच्छेद भइसकेको भनेर पार्टी र नेताहरूलाई झुटो विवरण दिएको पाइएको छ । जबकि सामाजिक सञ्जालहरूमा राखेका फोटा र भिडिओमा पनि उनीहरू तीनैजना सँगै देखिन्छन्। चाडवाडदेखि अन्य समयमा पनि उनीहरूले राखेका फोटाहरूले उनीहरू अलग भएको जस्तो देखिँदैन। त्यही भएर आइतबारदेखि नै सामाजिक सञ्जाल र मिडियामा थापाका दुईवटी श्रीमतीबारे समाचारहरु आइरहेका छन् ।

बहुविवाह गरेका व्यक्तिलाई टिकट दिन यतिका दिनसम्म किन लगाइयो भन्दै सामाजिक सञ्जालमा रास्वपाको आलोचना भइरहेको हो । थापा २०७९ को निर्वाचनमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक उम्मेदवार थिए । उनी केही समयअघि मात्रै रास्वपा प्रवेश गरेका हुन् । न्युरोलोजिस्ट थापा आर्थिक रूपले सम्पन्न मानिन्छन् । सोही कारण रास्वपा कार्यबाहक सभापति डिपी अर्यालले थापालाई टिकट दिएको भन्दै पार्टीभित्रै पनि असन्तुष्टि बढेको छ ।

रुपन्देही ३ मा रास्वपाबाट उम्मेदवार बन्न अमेरिकामा कानुनमा स्नातकोत्तर गरेका सुलभ खरेल नेपाल आएका थिए । उनले क्यान्डिेट बेन्चदेखि प्राइमरी इलेक्सनमा पनि बढी भोट पाएका थिए । तर अन्तिममा थापालाई टिकट दिइयो । आफूले टिकट पाउनेमा शतप्रतिशत आशावादी रहेका खरेल थापालाई दिइएपछि रास्वपा पार्टी कार्यालय परिसरमा डाँको छाडेर रोएका थिए । ‘रूपन्देही ३ को प्रस्तावित उम्मेदवारको रूपमा एकजना र बाँकी आठजना उहाँको सारथिको रूपमा लिएका छौँ,’ उपसभापति अर्यालले भने ।

प्रारम्भिक निर्वाचनमा नौजना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा थापासहित कुसुम महर्जन, मधु अर्याल, खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, रचना क्षेत्री र पुनमकुमारी अग्रवाल थिए । सभापति रवि लामिछानेले आइतबार दिउँसो उम्मेदवारका सबै आकांक्षीलाई नक्खु कारागारमा बोलाएर भेटेका थिए । भेटमा उनले अहिले एकजना उम्मेदवार हुने र अरूलाई ०८४ मा अवसर दिने भन्दै एक भएर निर्वाचनमा खटिन शुभकामना दिएका थिए ।