काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रूपन्देही–३ का लागि छनोट गरेका उम्मेदवार डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि पत्रकार सम्मेलन तय गरिएको थियो । थापा बहुविवाह विवादमा तानिएपछि रास्वपाले उनलाई राखेर गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेको हो । रास्वपा प्रवक्ता मनिष झाले पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिँदै अर्को समय नतोकिएको बताए ।
रास्वपाले गत साउन ७ देखि भदौ ८ गतेसम्म रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया चलाएको थियो । आइतबार मात्र डा.थापालाई उम्मेदवार घोषणा गरेको थियो । न्युरोलोजिस्टसमेत रहेका उनलाई उम्मेदवार बनाउने घोषणापछि थापाले दुई विवाह गरेको विषय बाहिरिएको थियो । उनको जेठी श्रीमती सुलोचना घिमिरे र कान्छी श्रीमती नुमा शर्मा रहेको खुलेको छ । थापाले आफ्नो जेठी श्रीमतीसँग डिभोर्स भएको दाबी गरेका छन् ।
तर अहिले पनि उनी दुईवटी श्रीमतीसँगै रहेको तथ्य बाहिरिएपछि पार्टीले आन्तरिक छानबिन सुरु गरेको बताइन्छ । थापाले भने पार्टीले मागेका बेला आफूले प्रमाण देखाउने बताएका छन् । जेठी श्रीमतीसँग कानुनी रुपमा अलग भए पनि सँगै बस्दै आएको बुझिएको छ । यदि थापाको टिकट खोसिएमा अधिवक्ता सुलभ खरेलको भाग्य चम्किने सम्भावना पनि छ ।














प्रतिक्रिया