धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा, नयाँ पार्टी खोल्नेबारे थाले छलफल


काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । त्रिभुवन विमानस्थल ओर्लिंदा आफ्नो पक्षमा जिन्दावादको नारा सुनेपछि हर्क दंग भएका छन् ।

उनी सोमबार बिहान विराटनगरबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । ‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’ को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ, सबैलाई धन्यवाद ।’

हर्क विमानस्थलबाट बाहिरिँँदा उनका समर्थकहरुले मोटरसाइकल र्‍याली गरेर स्वागत गरेका छन् । उनी मोटरसाइल र्‍यालीसहित डिल्लीबजारको कालिकास्थानमा रहेको सांस्कृतिक संघमा पुगेका छन् । त्यहाँ भेटघाट तथा संगठन विस्तार कार्यक्रम जारी छ । उनले अब संगठन विस्तारलाई तीव्र बनाएर नयाँ पार्टी खोल्ने बताइसकेका छन् ।