‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक, मंसिर १२ मा रिलिज हुने


फिल्म ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सोमबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मले आगामी मंसिर १२ गते लाई प्रदर्शन मिति तय गरेको छ। एकता पौडेलले यस फिल्म बाट डेब्यु निर्देशक गर्दै छन् ।

सार्वजनिक पोस्टरहरूमा मुख्य कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत, शर्मिला मल्ल, सन्तोष पन्त लगायतलाई प्रस्तुत गरिएको छ। पहिलो पोस्टरमा परिवारसँग रमाइरहेको दृश्य देखाइए पनि सन्तोष पन्त केही असन्तुष्ट भावमा देखिन्छन्। दोस्रो पोस्टरमा पारिवारिक खुशीका दृश्यसँगै अन्य कलाकारहरू नाचगानमा देखिन्छन्। बाल कलाकार साइमन वादी लाई कृष्णको रूपमा प्रस्तुत गरिएको छ भने नीर शाहलाई गम्भीर मुद्रामा देखाइएको छ।

फिल्मलाई पारिवारिक जीवनका उतार–चढावको कथा भनेर बुझ्न सकिन्छ। निर्देशक पौडेलले आफ्ना दिवंगत मामा, निर्देशक शिव रेग्मी को पारिवारिक सिनेमाको विरासतलाई निरन्तरता दिएको बताएकी छन्।

चितवनमा छायांकन गरिएको फिल्मलाई अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिज ले निर्माण गरेका हुन्। कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् भने छायांकन आलोक शुक्ला, सम्पादन लोकेश बज्राचार्य, संगीत समीर/हिमाल, वसन्त सापकोटा र एलिश कार्कीको रहेको छ।

फिल्ममा खगेन्द्र र वर्षासँगै नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहारी, लुनिभा तुलाधर, अंशु महर्जन, निमा पाण्डे, रेनु प्रधान लगायतका कलाकारहरूको अभिनय रहनेछ।

निर्माण पक्षमा प्रशन्न पौडेल र विकास पौडेल निर्माता, हिक्मत चोखल कार्यकारी निर्माता छन्। फिल्मको वितरण काफिया फिल्मस्ले गर्नेछ भने डिजिटल राइट्स बुढासुब्बा डिजिटलले खरिद गरेको छ।केशव पाण्डेको फोटोग्राफी र रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) को डिजाइन रहेको छ।