काठमाडौं । रुपन्देही ३ मा रास्वपाका उम्मेदवार डा.लेखजंग थापाले आफ्नो पहिलेकी श्रीमतीसँग भएको सम्बन्ध विच्छेदको कागजपत्र सार्वजनिक गरेका छन् । पार्टीले मंगलबारसम्मको डेडलाइन दिएर उनलाई डिभोर्सको कागजपत्र सार्वजनिक गर्न समय दिएको थियो । थापाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत अदालतमा भएको डिभोर्सको कागज सार्वजनिक गरेका हुन् । थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन् ।
उनले लामो स्टाटस लेख्दै पार्टीले गर्ने कुनै पनि निर्णयलाई सहर्ष स्वागत, स्वीकार र पालना गर्ने बताएका छन् । ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो,’ अदालती कागज सार्वजनिक गर्दै उनले लेखेका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ अञ्चलपुरका लेखजंगलाई रास्वपाले गत शुक्रबार र शनिबार सञ्चालन गरेको प्राइमरी इलेक्सनको मत र अरू प्रक्रियाका आधारमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । थापाको सदस्यता २०८२ मा मात्र प्रमाणित भएको पार्टीले जनाएको छ । ‘न्युरोचिकित्सकका रुपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु।
यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु। सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन,’ उनले लेखेका छन् । उनले सम्बन्ध विच्छेद भए पनि आफ्नो सम्बन्ध बाँचुन्जेल सुमधुर रहने पनि बताएका छन् ।
‘सम्बन्धविच्छेद भन्नेबित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो ? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाँचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनुपर्दैन,’ उनले लेखेका छन् ।














प्रतिक्रिया