पहिरोले सुडानमा एक हजारको मृत्यु, एकजना मात्र जीवित



काठमाडौं ।
सुडानको पश्चिमी क्षेत्रमा पहिरोले एक हजारभन्दा बढीको मृत्यु भएको छ । विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट (आर्मी) ले जनाएको छ । तीन दिनअघि गएको पहिरोले गरेको मानवीय क्षतिबारे उसले पुष्टि गरेको हो ।
बीबीसीका अनुसार, यो घटना पश्चिमी सुडानको मर्रा पर्वतस्थित टाढाको क्षेत्रमा भएको हो। विद्रोही संगठनका अनुसार लगातार धेरै दिनसम्म परेको भारी वर्षाका कारण ३१ अगस्टमा पहिरो गएको हो। यसमा तारासिन गाउँको ठूलो हिस्सा विनाश भएको छ ।
‘प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, जसको संख्या एक हजारभन्दा बढी हुने अनुमान छ। केवल एकजना मात्र जीवित छन्,’ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


विद्रोहीहरूले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग पीडितहरूको शव उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेका छन्। मृतकमध्ये बालबालिका पनि रहेका छन्। सुडानमा तीन वर्षदेखि चलिरहेको गृहयुद्धले देशलाई विश्वकै भीषणतम मानवीय संकटमध्ये एकमा धकेलेकै बेला यो प्राकृतिक विपत्ति थपिएको हो ।


सञ्चार संस्था अल जजिराका अनुसार, दारफुरका केही भागमा भने पहिले नै भोकमरी घोषणा भइसकेको छ। समाचार संस्था रोयटर्सका अनुसार, उक्त क्षेत्रमा खाद्यान्न र औषधि अभाव भएको छ ।