पाटनबाट चलचित्र ‘कुमारी’को छायाङ्कन सुरु, बङ्गलामुखी मन्दिरमा शुभमुहूर्त


काठमाडौं – ललितपुरको बङ्गलामुखी मन्दिरमा मंगलबार बिहान औपचारिक शुभमुहूर्तसँगै चलचित्र ‘कुमारी’ को छायाङ्कन सुरु भएको छ। निर्देशक दिनेश राउतले मेगाफोन सम्हालेको यो चलचित्रको पहिलो खिचाइ पाटन क्षेत्रबाट प्रारम्भ भएको हो।

३५ दिनभित्र सम्पूर्ण छायाङ्कन सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको यस चलचित्रमा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा देखिनेछन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारको पनि अभिनय रहनेछ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बन्ने चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने कथा–पटकथा विकास सुवेदीले लेखेका हुन्। यसअघि घोषणा समारोहमै सार्वजनिक गरिएको गीत ‘कता छौ’ चर्चामा आएको थियो, जसमा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ ले प्रस्तुति दिएका थिए। यही चलचित्रमार्फत लिम्बुले पार्श्व गायनमा डेब्यु गरेका छन्।

सङ्गीतमा केहर सिंह लिम्बुसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको योगदान रहनेछ भने गीतमा स्वर लिम्बुले नै दिएका छन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका हुन्।

निर्देशक राउतले यसअघि ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता प्रेमकथामा आधारित सफल चलचित्र र ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’, ‘पुजार सार्की’ जस्ता सामाजिक विषयवस्तुमा केन्द्रित चलचित्र निर्देशन गरिसकेका छन्। ‘कुमारी’ मार्फत उनले फेरि प्रेमकथामा पुनरागमन गरेका छन्।

छायाङ्कन निर्देशन सुसन प्रजापतिको रहने यस चलचित्रमा कार्यकारी निर्माता केदार भुसाल, प्रोडक्सन डिजाइनर आशिका शर्मा, मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत छन्। फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले गरेका छन्। सुप्रिम पराजुली रङ संयोजनमा, उत्तम न्यौपाने साउन्ड डिजाइनमा, किरण थापा कोरियोग्राफीमा तथा अन–स्क्रिन कविता रिया अधिकारीले लेखेकी छन्।