काठमाडौं – माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता छलफलमा जुटेका छन् । समाजवादी मोर्चामा रहेका दुवै दल पार्टी एकताको प्रक्रियाका बारेमा छलफलमा जुटेका हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू मंगलबार दिउँसो आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टीमा कार्यालयमा वार्तामा छन् । दुवै दलले पार्टी एकता गर्नेबारे छलफल अघि बढाएका छन् ।
एकीकृत समाजवादीमा तत्काल माओवादीसँग एकता गर्न नहुने पक्ष बलियो छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका नेताहरू अहिले नै माओवादीसँग एकता गर्न नहुने भन्दै माधव नेपाललाई दबाब दिइरहेका छन् । उनीहरूले तीन दिनअघि शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा भेला भएर माओवादीसँग कुनै पनि हालतमा एकता नहुने निष्कर्ष निकालेका थिए । जहाँ ५१ जना केन्द्रीय सदस्य सहभागी थिए ।
तर अध्यक्ष माधव नेपाल भने कुनै पनि हालतमा माओवादीसँग एकता गरेर जानुपर्ने पक्षमा छन् । त्यसका लागि उनले आन्तरिक सर्कुलरसमेत जारी गरिसकेका छन् । तर तल्ला तहमा माओवादीसँग एकता गर्न नहुने मत बलियो बन्दै गएको छ । यसले माधव नेपाललाई नैतिक संकट उत्पन्न गरेको छ ।














प्रतिक्रिया