डा.लेखजंगलाई रास्वपाको ‘क्लिन चिट’, उम्मेदवारी कायमै रहने


काठमाडौं – रुपन्देही ३ को उम्मेदवार सिफारिस डा.लेखजंग थापाले जेठी श्रीमतीसँगको डिभोस कागज सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि रास्वपाले उनलाई ‘क्लिन चिट’ दिने भएको छ । अब थापा नै उम्मेदवार कायम रहने भएका छन् ।

सोमबार रास्वपा नेताहरूले थापाले एक श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाण सार्वजनिक नगरे उनको उम्मेदवारी रद्द गर्ने तयारी गरेका थिए । थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेपछि उनी नै उम्मेदवारमा कायम रहने रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताएका छन् ।

थापाले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा रूपन्देही जिल्ला अदालतको मिलापत्र कागज सार्वजनिक गर्दै जेठी श्रीमती सुलोचना घिमिरेसँग सम्बन्धविच्छेद भइसकेको बताएका थिए । कागजमा २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको देखिन्छ ।

‘परिस्थितिका कारण मैले जीवनमा दुईपटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो,’ उनले फेसबुकमा लेखेका छन् ।

घिमिरेले बिएससी नर्सिङ गरेकी छन् । उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन् । लेखजंगकी कान्छी श्रीमती नुमा शर्मा काठमाडौं बस्छिन् ।

थापाकी जेठी श्रीमती घिमिरेले आफूलाई खान–लगाउन केही पनि नदिई शारीरिक र मानसिक यातनासमेत दिई घरबाट निकालेको भन्दै २०७९ पुस २० गते मुद्दा दर्ता गरेकी थिइन् । यो मुद्दा परेपछि लेखजंगले कान्छी पत्नीसँग अदालतमै गएर २०७९ माघ १५ गते मिलापत्र गरेर सम्बन्धविच्छेद गरेको देखिन्छ।

‘हामी दुवैजना पत्नीको रूपमा बसी आएकोमा विपक्षी पक्षले घरको काम व्यवहार नगरी अरूको कुरा सुनी मलाई सधैं गाली गर्ने, खान लगाउनमा दुःख दिई घरमा रहन बस्नसमेत नदिएकाले मिति २०७९ पुस २० गते घरबाट निकाला गरेको र विपक्षी पक्षले मलाई मानसिक तथा शारीरिक पीडा दिँदै आएको हुँदा सहँदै बसी आएकामा निजलाई सम्झाउँदा उल्टै नमानी बारम्बार शारीरिक र मानसिक कष्ट हुने यातना दिई आएकाले बाध्य भई निज पतिसँग मेरो पछिसम्म राम्रो सम्बन्ध हुनसक्ने अवस्था नरहेकोले र मैले आफ्नो जीविकोपार्जन गर्नका लागि स्वतन्त्र बस्न श्रेयस्कर सम्झी मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा ८, मुलुकी देवानी संहिता, २०७४ को दफा ९५ (ख) (ग) तथा ऐ दफा ९६ नम्बरको आधार एवं ऐ को दफा १०४ ले तोकिएको हदम्याद भित्र प्रस्तुत नालिस गर्न आएकी छु,’ मुद्दामा भनिएको छ ।