काठमाडौं – असोज १३ गते फूलपातीका दिन रिलिज हुने फिल्म ‘माइतीघर’ को शीर्ष गीतमा आधारित नृत्य प्रतियोगितामा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ। सोमबारदेखि सुरु भएको यस प्रतियोगितामा सहभागीले तयार पारेका भिडियोले छोटो समयमै सामाजिक सञ्जालमा उच्च चर्चा बटुलेका छन्।
निर्माता रोहित अधिकारीका अनुसार, प्रतियोगिता सुरु भएको २४ घन्टा नपुग्दै नै दर्शकले उल्लेख्य संख्यामा भिडियो पठाएका छन्। उनका शब्दमा– “दर्शकहरुको उत्साह देख्दा हामी आफै अचम्मित भएका छौं। २४ घन्टा नपुग्दै ओएसआर डिजिटलका विभिन्न प्लेटफर्ममा १५–२० लाख भ्युज आइसकेको छ।”
सुरुवाती घोषणा अनुसार, प्रतियोगितामा पहिलो हुनेले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने व्यवस्था गरिएको थियो। तर निर्माण पक्षले अब दोस्रो र तेस्रो हुनेलाई पनि पुरस्कार दिने जनाएको छ। साथै, सहभागी सबैको पनि हात खाली नहुने जानकारी दिइएको छ।
सञ्जिवनीको स्वरमा समावेश गीत सार्वजनिक भएसँगै लोकप्रिय बनेको छ। सहभागीले ४० सेकेन्डदेखि २ मिनेटसम्मको नृत्य भिडियो बनाएर पठाउन सक्नेछन्। गीतको भिडियोमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पा देखिएका छन्। कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।
रोहित अधिकारीले केही भिडियोमा दर्शकको मिहिनेत र सिर्जनशीलता देखेर आफूहरु छक्क परेको बताए। उनका अनुसार, “दर्शकले भिडियोलाई उत्कृष्ट बनाउन कुनै कमी गरेका छैनन्।”
फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायतका कलाकारको अभिनय रहेको छ।
चन्द्रकुमार दोङको कथामा आधारित फिल्ममा रामशरण पाठकले पटकथा तथा संवाद लेखेका हुन्। फिल्मका लगानीकर्ता रबिन शेरचन र धिरज तामाङ हुन् भने कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल रहेका छन्।














प्रतिक्रिया